हेटौंडा \  हेटौंडा ८ राजपानीमा रहेको सर्वोत्तम संचिति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वार्षिक साधारण सभामा सहकारीबाट उत्पादित वस्तुहरुको विक्री प्रर्दशनी गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामबहादुर बस्नेतले आगामी शुक्रबार र शनिबार वस्तु विक्री गरिने बताए ।

सदस्यलाई व्यवसायी बनाउँदै संस्था स्वंम पनि व्यवसायी बनेको संस्थाको रुपमा रहेको सहकारीको १९ औं वार्षिक साधारणकै अवसरमा सहुलियत दरमा संस्थाबाट उत्पादित वस्तु प्रदर्शनी तथा विक्री गरिने भएको हो ।

नेपालकै कच्चा पदार्थहरुको प्रयोग गरि ५० भन्दा बढी वस्तुहरु उत्पादन गर्दै आइरहेको अध्यक्ष बस्नेतले बताए । तोरीको तेल देखी रैथाने बालीका पिठोहरुको विक्री वितरण गर्दै आइरहेको छ । ५० वटा स्टलमा सामाग्री राखेर विक्री गरिने अध्यक्ष बस्नेतले बताए । सदस्यलाई व्यवसाय तर्फ उन्मुख गराई उपभोग्य वस्तुमा समुह समुह बीच समन्वय गरी आत्मनिर्भर तर्फ उन्मुख गराउने, मिसावट युक्त तथा बेमौसमी उपभोग्य वस्तु तथा हानिकारक विषादियुक्त खाद्य पदार्थ प्रति सचेतना कार्यक्रम सञ्चालन गरी स्वास्थ्य सुधार गर्ने लक्ष्य रहेको छ, उनले भने । सदस्य समुहमा छरिएर रहेको बचतलाई पुजीँकृत गरी उत्पादनमा लगाई रोजगारीको सृजना गर्ने, संस्थामा आवद्ध भई उत्पादन सँग जोडिनु भएका सदस्यहरुको श्रम मुल्यको सुरक्षा गर्दै उत्पादित सामान खरिद गर्ने गरेको बताए ।

सभालाई प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले उद्घाटन गरिने कार्यतालिका रहेको संस्थाका व्यवस्थापक राजाराम थापाले बताए । ५० वटा स्टल रहन्छन्, दुई दिन सञ्चालन हुने विक्री प्रर्दशनीमा करिब २० हजारले अवलोकन गरिने अनुमान रहेको थापाले बताए । संस्थाले दैनिक उपभोग्य वस्तु उत्पादनका साथै गाईभैंसी, बाख्रा बंगुरका दानाहरु समेत उत्पादन हुने उनले बताए । संस्थामा करिब तीन हजार शेयर सदस्य रहेको छ । सहकारीले विभिन्न स्थानमा आउटलेट राखेर सामाग्री विक्री पनि गर्दै आइरहेको छ ।