हेटौंडा \ बचत तथा ऋणको कारोबार गर्ने हेटौंडा २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि. बागमती प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भएको छ । शनिबार सम्पन्न राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभामा सहकारीलाई बचत तथा ऋण तर्फ उत्कृष्ट घोषित गर्दै पुरस्कृत गरिएको थियो ।

काठमाडौंमा भएको सभामा बैंकले सहकारीको विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको उच्च मुल्याकंन गर्दै उत्कृष्ट प्रादेशिक सदस्यको रुपमा हातेमालो साकोसलाई पुरस्कृत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।

बैंकले विभिन्न विधामा सदस्य संस्थाहरुलाई पुरस्कृत तथा सम्मान गरिएको उनले बताए । बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले संस्थाका अध्यक्ष हरिप्रसाद पौडेललाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका थिए । पौडेलको साथमा संस्थाका सचिव सीताराम दाहाल, व्यवस्थापक रमला कुमारी सापकोटा लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

करिब तीन हजार शेयर सदस्य रहेको संस्थामा आव २०८१०८२ मा ६ करोड ६६ लाख ३२ हजार ६ सय शेयरपुजीँ रहेको व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् । उनका अनुसार सदस्यलाई ५६ करोड ४१ लाख ६५ हजार ८९४ रुपैयाँ कर्जा लगानी रहेको र ५६ करोड ६३ लाख २४ हजार ३१८ रुपैयाँ कुल बचत रकम रहेको जनाईएको छ । संस्थाको कुलपुजीँ भने ७४ करोड ८२ ९४ हजार ४४८ रुपैयाँ रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाका सबै वडा, बकैया गाउँपालिकाको वडा ३ देखी ७ सम्म र मकवानपुरगढी गाउँपालिकाको १ देखी ४ वडासम्म कार्यक्षेत्र रहेको सहकारीले बकैयाबाट सेवा केन्द्र सञ्चालन गरि सेवा प्रवाह गर्दै आइरहेको छ ।