हेटौंडा \ हेटौंडा २ संगमचोकमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सदस्य राहत कोषबाट पाँच सदस्यलाई खाद्यान्न सहयोग गरेको छ । चाडपर्व शुभकामना आदान प्रदान तथा मानो रातह वितरण कार्यक्रम आयोजना गर्दै संस्थाले आर्थिक अवस्था कमजोर रहेका सदस्य छनौट गरी खाद्यान्न सहयोग गरिएको हो ।

संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । संस्थाले छविलाल नेपाल धन माई, मणिकलाल घिसिङ, हरिकुमारी फुयल र शवि सञ्जेललाई तीन हजार पाँच सय बराबरको चामल, चिउरा, नुन, तेल, बेसार र आँटा सहयोग गरिएको संस्थाका अध्यक्ष पौडेलले बताए ।

रातह कोष स्थापना पश्चात यो पहिलो सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए । हामीले सदस्यको वस्तु स्थिती बुझेर मात्रै आर्थिक कमजोर भएको सदस्य छनौट गरिएको उनले बताए । कोषमा सदस्यको सुरुमा एक हजार र प्रतयेक वर्ष २ सय रुपैयाँ राख्दै आइरहेको उनले बताए । सोही अवसरमा घातक रोगका पिडित गीता पण्डितलाई उपचारमा थप राहत स्वरुप १५ हजार रुपैयाँ सहयोग गरिएको थियो ।

सामाजिक उत्तरदायित्वमा अग्रसर सहकारीमा २ हजार ९७७ जना सदस्य रहेका र शेयरपुजीँ ६ करोड ६६ लाख रहेको संस्थाका व्यवस्थापक रमलाकुमारी सापकोटाले बताईन् । भदौ मसान्तसम्ममा ७४ करोड ८२ लाख कारोबार रहेको सहकारीले सदस्यलाई ५६ करोड ४१ लाख कर्जा लगानी गरेको छ । संस्थामा बचत निक्षेप भने ५६ लाख ६३ हजार रहनुका साथै जगेडा कोषमा ४ करोड ८२ लाख रहेको व्यवस्थापक सापकोटाले बताईन् ।

कार्यक्रममा संस्थाका सचिव सीताराम दाहाल, कार्यसमिति सदस्यहरु, बकैया सेवा केन्द्रका संयोजक भरतप्रसाद सापकोटालगायतको उपस्थिती रहेको थियो ।