हेटौंडा \ हेटौंडा–२ देवीपथमा मूख्य कार्यालय रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले कुशे औंशी ९बुबाको मुख हेर्ने दिन० को अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य सम्मान गरेको छ ।
शुक्रबार हेटौंडामा भएको कार्यक्रममा संस्थामा आवद्ध रहेका ७० वर्षभन्दा बढी उमेर समूहका जेष्ठ सदस्यसँग भेटघाटसहित मनका कुरा संवाद कार्यक्रम गरेको हो । कार्यक्रममा जेष्ठ सदस्यहरुलाई ढाकाटोपी लगाएर सम्मान गरिएको थियो । हाल संस्थामा ८४ जना ७० वर्ष माथिका जेष्ठ पुरुष सदस्यहरु रहेकोमा आज ४७ जनालाई सम्मान गरिएको हो ।
संस्थाका अध्यक्ष मिठाराम दहालको अध्यक्षता एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य एवम् प्राध्यापक शिवराज पराजुलीले ‘जेष्ठ सदस्यसँग मनका कुरा’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले संस्थाको प्रगति विवरण जानकारी गराएका थिए ।
२०५५ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ६ सय ७० जना शेयर सदस्य रहेका छन् । हेटौंडा १७ हटियामा सेवा केन्द्रसमेत रहेको संस्थामा हाल ६ जना कर्मचारी कार्यरत रहेका छन् । संस्थाको २ करोड ९१ लाख ९८ हजार शेयर पुँजी रहेको व्यवस्थापक भण्डारीले बताए । संस्थामा बचत निक्षेप ३६ करोड ३३ लाख ४३ हजार रहेको छ भने आव २०८१/०८२ मा मोटामोटी नाफानोक्सान एक करोड रहेको भण्डारीले बताए ।
२०७३मा मकवानपुर नमूना सँग विभूति साकोस एकीकरण भयो, त्यसपछि ०७६ मा प्रगति साकोस सँग एकीकरण भएपछि संस्थाको नाम मकवानपुर नमूना प्रगति साकोस रहेको व्यवस्थापक भण्डारीले बताए । ०७७ असारमा संगक साकोस एकीकरण भएपछि संस्थाको नाम धेरै लामा भएपनि साधारण सभाबाट ०७७ चैत्रमा संस्थाको नाम नमूना प्रगति साकोस राखिएको उनले बताए ।
संस्थाका सचिव रामजी सापकोटाले सञ्चालन गरेका कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका सञ्चालक सीताराम दाहाल, संस्थाका सल्लाहकार सुर्यचन्द्र न्यौपाने र जुनेली श्रेष्ठ, कोषाध्यक्ष केशव देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।

