काठमाडौँ \ राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुल १३७.९२ करोड रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको १२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले कम्पनीको विभिन्न निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बिमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल कम्पनीका आर्थिक स्रोतका आधार भएको बताउनुभयो ।

सरकारले लिएको बीमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको उहाँले बताउनुभयो । व्यावसायिक अवसरलाई आफ्नो पक्षमा सुनिश्चित गर्न र नयाँ व्यावसायिक क्षेत्रको पहिचान गरी व्यवसाय विस्तार, कार्यदक्षता र व्यावसायिकता अभिवृद्धि गर्न कम्पनी निरन्तर लागि परेको उहाँले बताउनुभयो ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले सरकारी स्वामित्वको एक मात्र निर्जीवन बीमा कम्पनीका रूपमा कार्य गर्दै आएको कम्पनीले आफ्नो विगतका प्रगति समीक्षा गर्दै नेपालको निर्जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न प्रयत्नशील रहन आग्रह गर्नुभयो । प्रचलित बीमा ऐन एवं बीमा नियमावलीको अधीनमा रही समयमै आफ्नो बाँकी लेखापरीक्षण कार्य सम्पन्न गर्नुका साथै वित्तीय पारदर्शिता, व्यावसायिक स्वस्थता, संस्थाको मर्यादा तथा गुणात्मकता बढाउन सक्नुपर्नेमा उहाँको जोड थियो ।

कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले कम्पनीले हालै आव २०७५/७६ र आव २०७६/७७ को वार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएको भन्दै आव २०७७/७८ तथा आव २०७८/७९ को वित्तीय विवरणको वार्षिक साधारण सभा यथाशीघ्र सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । त्यसभन्दा पछिल्ला आवका वित्तीय विवरण पनि तयार गरी चालु आवभित्र साधारण सभा गर्ने लक्ष्य लिएको जनाउँदै कम्पनीले बीमा व्यावसायको विकास, विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । कार्यक्रममा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्तालाई पुरस्कृत गरिएको थियो ।

साबिकको राष्ट्रिय बीमा संस्थानको निर्जीवन बिमा व्यवसायलाई अलग संस्था स्थापना गरी सञ्चालन गर्ने नेपाल सरकारको निर्णयबमोजिम २०७१ साल जेठ २८ मा राष्ट्रिय बीमा कम्पनी लिमिटेड स्थापना भएको हो । कम्पनीले २०७१ साल असार २७ गते बीमा समितिबाट निर्जीवन बिमकको इजाजत प्राप्त गरी २०७१ साल साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।