मनहरी \ मकवानपुरकाे मनहरी गाउँपालिकाले किसानकाे बाली बीमा गर्न सुरुवात गरेकाे छ । बुधबार मनहरी ७ नम्बर वडाबाट बाली बीमा कार्यक्रम सुरु गरिएकाे हाे ।
मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतकाे उपस्थितिमा बुधबार महनरी-७ का सेतेलाल जिम्बाकाे १९ कठ्ठा खेतमा लगाइएकाे धानबालीकाे बीमा गरी कार्यक्रम सुरु गरिएकाे हाे । अहिले धानबालीकाे सिजन भएकाले धानबालीकाे बीमा गर्न सुरु गरिएकाे र सिजनअनुसारका सबै अन्नबाली र तरकारी बालीसमेतकाे बीमा गरिने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।
अन्नबालीमा किरा तथा अन्य राेगकाे प्रकाेपलगायतका कारण अन्न उत्पादन नहुने कारण किसान मर्कामा परिरहेकाले अन्न उत्पादन नभएका कारण किसानलाई हुने हानी नाेक्सानीकाे क्षतिपूर्ति भराउने उद्धेश्यले गाउँपालिकाले यस वर्षबाट बाली बीमा कार्यक्रम सुरु गरेकाे गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिए ।
बाली बीमाका लागि गाउँपालिकाले शिखर ईन्स्यारेन्ससँग सम्झाैता गरि कार्य थालनी गरिएकाे हाे । धानबाली बीमा गर्न इच्छुक किसानलाई निवेदन दिन गाउँपालिकाले एक हप्ताअघि नै सूचना जारी गरेकाे थियाे । सबै वडा कार्यालयहरुमार्फत बाली बीमा गरिने गाउँपालिकाले जनाएकाे छ । बाली बीमा गर्दा कुल बीमाङ्क रकमकाे ८० प्रतिशत रकम गाउँपालिकामार्फत संघीय सरकारले अनुदान दिने व्यवस्था छ भने २० प्रतिशत रकम किसान आफैँले बेहाेर्नुपर्नेछ । बाली बीमाकाे २० प्रतिशत बीमाङ्क रकमसमेत तिर्न नसक्ने विपन्न किसानकाे बीमाङ्क भुक्तानी गाउँपालिकाले गरिदिने गरी बजेट छुट्याइएकाे अध्यक्ष कालाखेतीले बताए ।
बाली बीमा सुरु भएसँगै अब अन्नबालीमा राेग किराकाे प्रकाेप साथै वन्यजन्तुबाट गर्ने क्षतिबापत किसानले क्षतिपूर्ति पाउने भएकाले किसानले राहत अनुभूति गर्ने गाउँपालिका उपाध्यक्ष सीता पुलामीले विश्वास व्यक्त गरिन् । आगामी दिनमा अन्य अन्नबाली र तरकारी बीमाकाे कार्यक्रमलाई पनि अघि बढाइने उनले बताइन् ।

