♦ राजन घिमिरे
हेटौंडा \ जिल्लाभरका दुध संकलन गर्दै आइरहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिले आफ्नो उद्योगमा उत्पादित दुध तथा दुग्धजन्य पदार्थ बिक्रीका लागि थप नयाँ स्थानमा बिक्री काउन्टर बिस्तार गरेको छ । संघकै कार्यालय परिसरमा काउन्टर सञ्चालन गर्दै आइरहेको संघले शुक्रबार हेटौडा ४ भैरबरोडमा बिक्रि काउन्टर विस्तार गरेको संघका अध्यक्ष हरिप्रसाद कंडेलले बताए । । अध्यक्ष कडेल र मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले संयुक्त रुपमा बिक्री काउन्टरको उट्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष कडेलले यस्ता बिक्री काउन्टर आगामी दिनमा अन्य स्थानमा पनि सञ्चालनमा ल्याइने योजना रहेको बताए । संघले जिल्लामा एकद्वार प्रणाली मार्फत दुधको व्यवस्थापन गर्दै आएको छ । अहिले ६६ वटा दुग्ध तथा बहुउद्देशीय सहकारी सस्थाबाट दैनिक ५० हजार देखि ६० हजार लिटर दुध संकलन एवम् व्यवस्थापन गर्दै आइरहेको अध्यक्ष कंडेलले जानकारी दिए ।
कृषकहरुको दुधको भुक्तानी व्यक्यौता र मिल्क होलिडे जस्ता समस्या केहि हदसम्म भएपनि स्थानीय क्षेत्रमा विस्तारित बिक्री काउन्टर, स्थानीय बजारिकरणले सो समस्या समाधानका निम्ति कहिँ न कतै सहयोग पुग्ने अपेक्षा राखिएको अध्यक्ष कडेलको भनाइ रहेको छ । संघले संकलन र व्यवस्थापन गरेको दुध मकवानपुर जिल्लाका विभिन्न दुग्ध उद्योग र जिल्ला बाहिर पोखरा काठमाडौं लयायतका शहरहरुमा खपत हुने गरेको छ ।
मकवानपुर दुग्ध सहकारी उद्योगबाट उत्पादित स्वच्छ तथा गुणस्तरीय दुध एंव दुग्धजन्य पदार्थ दुध, दहि, घ्यु, पनिर, नौनी, मोही लगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्दै आइरहेको संघका व्यवस्थापक दामोदर अधिकारीले बताए । उक्त उद्योगबाट उत्पादित वस्तु काउन्टरबाट बिक्री गरिने अधिकारीले बताए । बिक्रि काउन्टर विस्तारसँगै मिल्क होलिडे जस्ता समस्या समाधान हुने अपेक्षा संघले लिएको छ ।

