ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलमा अवस्थित श्री मितेरी बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा शिविर, वित्तीय शिक्षा तथा विस्तारित मञ्च कार्यक्रम सञ्चालन गरेको छ । सहकारीले १४ गते शनिबार वडा नम्बर ४ राकसखोला, १६ गते सोमबार वडा नम्बर २ खानीखेत र २० गते शुक्रबार सहकारीको आफ्नै भवनमा कार्यक्रम आयोजना गरिएको संस्थाका सूचना अधिकारी उमेश बस्नेतले बताए ।

वार्षिक कार्यक्रम अन्तरगत शेयर सदस्यलाई सहकारी शिक्षाका साथै वित्तीय शिक्षा समेत प्रदान गरिएको बस्नेतले बताए । राकसखोलामा २२ जना, रानीखेतमा ५२ जना र संस्थाको हलमा ४२ जना गरि ११६ जना कार्यक्रममा सहभागिता रहेको उनले बताए ।

संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । जेठ मसान्त सम्ममा दुई हजार भन्दा शेयर सदस्यरहेको संस्थामा एक करोड ८७ लाख ५९ हजार ८ सय रुपैयाँ शेयरपुजीँ रहेको छ ।

सहकारीले १६ करोड ४६ लाख ५६ हजार ४८९ रुपैयाँ कर्जा लगानी रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । संस्थामा १५ करोड १४ लाख ४ हजार ६०४ रुपैयाँ बचत निक्षेप छ । जगेडा कोषमा भने १ करोड ३९ लाख ४९ हजार ५७५ रुपैयाँ रहेको व्यवस्थापक थापामगरले बताए ।