मकवानपुरगढी \ २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ उत्साहपूर्वक मनाइएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना, रेडियो थाहा सञ्चार ९९।६ मेगाहर्जको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशको सहकार्यमा सिमलटारमा रोपाइँ गरी राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको हो ।

“धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारीको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष हिरामणी दाहालको सभाध्यक्षता रहेको थियो । कार्यक्रमा  बोल्दै मन्त्रालयका सचिव अधिकारीले परम्परा रुपमा मनाइँदै आएको धान दिवसको अवसरमा प्रदेशका सबै कृषकहरुलाई शुभकामना दिँदै देशको आर्थिक विकास र अर्थतन्त्रमा धानको धेरै नै महत्वपूर्ण भूमिका रहेको बताए । देशमा ४ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा धानको योगदान रहेको उनको भनाई छ । देशभरमा १४ लाख हेक्टरभन्दा बढीमा धान लगाउने गरेको र तीमध्ये १० प्रतिशत भन्दा बढी क्षेत्रमा धान लगाइने उनले जानकारी दिए । प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरेर सकेसम्म क्षमताले भ्याएसम्म धान प्रवद्र्धन कार्यक्रम गरिरहेको भन्दै किसानहरुको आवश्यकतालाई पूरा गर्न नसकिएकोमा उनले दुःख व्यक्त गरे ।

यस्तै, रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्जका प्रबन्धक अरुणराज सुमार्गीले कृषिमा प्रयोग हुने रासायनिक, प्राराङगिक मलको सटामा वैकल्पिक मलहरुको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले बारीको पाटामा दीर्घकालिन बोटविरुवा रोप्नुपर्ने बताउँदै त्यसतर्फ ध्यान दिन अनुरोध गरे । उनले आफुले कृषि उद्यमको सभापति भएको बेलाको आफ्नो अनुभव समेत सुनाए ।

मकवानपुरगढी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता दीपेश दाहालले हरेक वर्ष झै यस वर्ष पनि रेडियो थाहा संचार ९९६ मेगाहर्जले कृषकहरुको कुरा सबै जनताको घरघरमा सुन्ने वातावरण बनाएको भन्दै धन्यवाद दिए । उनले असारमा रोपेको धानले वर्षौ भरी खाने र नेपालमा धानका आयातलाई प्रतिस्थापन गर्नु धान खेति गर्नुपर्नेमा जोड दिए । कृषकहरुले बढीभन्दा बढी धान कसरी उत्पादन गर्न सकिन्छ भनेर त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

यसैगरी, अर्गानी कृषि विज्ञः घमराज तिमल्सिनाले पछिल्लो समय रासायनिक मलले पारेको असरलाई चाूनौतिका रुपमा अघि सारेर अगाडि बढनुपर्ने बताए । अहिलेको बढ्दो जनसंख्यालाई थेग्नको लागि  उत्पादन बढाउनुपर्ने  र त्यसको लागि मलको अभावको परिपूर्ति गर्न जैविक प्रणालीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कृषकहरूको उत्साहजनक सहभागीता रहेको उक्त कार्यक्रममा खाजा स्वरूप परम्परागत रूपमा दही, चिउरा, आचार वितरण गरिएको थियो । कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य यतिराज सापकोटा, मकवानपुर जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का सचिवालय सदस्य यज्ञप्रसाद तिमल्सिना र अर्गानिक कृषि विज्ञ घमराज तिमल्सिना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता भएको थियो ।