राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै राष्ट्रपतिले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो भन्नुभएको छ ।
सन्देशमा उहाँले सामाजिक जागरण र सबैमा समभावको विकास गर्न सबै जात–जाति र समुदायबिच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी समतासहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउन र जातीय छुवाछूत तथा विभेदविरूद्ध दृढतापूर्वक उभिदैँ लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

