एक वर्षमै एक खर्बले बढेर देशको बेरुजु १३ खर्ब पुगेको छ । बेरुजुको यति ठुलो अंकले राज्यकोष सञ्चालनमा मौलाएको बेथिति उजागर गरेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार ०८०/८१ सम्म कारबाही गरी टुंगो लगाउनुपर्ने कुल बेरुजु १२ खर्ब ८४ अर्ब २० करोड ८७ लाख पुगेको हो ।
राज्यकोषबाट भएका अपारदर्शी खर्चलाई महालेखाले बेरुजु कायम गर्छ । कार्यालय तथा संस्थागत हिसाबमा गत आवसम्मको अद्यावधिक बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड नौ लाख पुगेको छ । यो पाँच हजार ७५९ सरकारी कार्यालय, संगठित संस्था तथा अन्य संस्थाको ९४ खर्ब ६२ अर्ब ३६ करोडको लेखापरीक्षण गर्दा आएको बेरुजु हो ।
संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र अन्य संस्था तथा समितितर्फको लेखापरीक्षणबाट कार्यालयले फर्स्योट गर्न बाँकी अद्यावधिक बेरुजु कायम गरेको छ । यो अद्यावधिक बेरुजु अघिल्लो वर्षको तुलनामा करिब ६३ अर्ब ३३ करोड बढी हो । त्यस्तै, लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण र जमानत बसी दिएको ऋणको भाखा नाघेको साँवाब्याजसमेतको कारबाही गरी टुंगो लगाउनुपर्ने रकम पाँच खर्ब ५१ अर्ब एक करोड पुगेको छ ।
महालेखा परीक्षक तोयम राया बेरुजु अंकले देशको सुशासनको अवस्था ठिक नभएको देखाएको बताउँछन् । ‘बेरुजु अंकले देशको आर्थिक अनुशासनको चित्र देखाएको छ । बेरुजुको पाटोबाट हेर्दा देशको सुशासनको अवस्था ठीक नभएको देखिन्छ,’ उनले भने, ‘बेरुजु उठेपछि उसको सम्बोधन र समाधान गर्नुपर्छ । यसप्रति सम्बद्ध पक्ष गम्भीर हुन आवश्यक छ ।’ नीति योजना, त्यसको कार्यान्वयन, खर्चको आवश्यकता र औचित्य तथा कानुनको परिपालनालगायत पक्षबाट बेरुजु हेरिने उनी बताउँछन् ।
एक वर्षमा मात्रै अद्यावधिक बेरुजु एक खर्ब ९४ करोड चार लाखले बढेको छ । ०७९/८० सम्म ११ खर्ब ८३ अर्ब २६ करोड ८३ लाख कुल बेरुजु रहेकामा ०८०/८१ सम्म १२ खर्ब ८४ अर्ब २० करोड ८७ लाख पुगेको हो । पुरानो कुल बेरुजुबाट फर्स्योट गरेर बाँकी रहेकोमा नयाँ थपिएको बेरुजुबाट अद्यावधिक अंक निकालिन्छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक वित्तीय प्रशासनमा अनुशासनको अभाव हुँदा बेरुजुको अंक बढ्दै गएको भन्दै सुधारका कदम चाल्न सरकारलाई सुझाव र सिफारिस गरेको छ । त्यस्तै, प्रत्येक वर्ष बेरुजुको अंक बढ्दै गएको, तर त्यसको तुलनामा फर्स्योटको अंक घट्दो क्रममा रहेको भन्दै महालेखाले चिन्तासमेत जनाएको छ ।

