गत असोजको १०–१२ गते बाढीपहिरोले दाबी भुक्तानी बढाएपछि चालू आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा निर्जीवन बिमा कम्पनीहरूको नाफा ५४.४५ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बिमा कम्पनीले चालू आवको नौ महिनामा दुई अर्ब ४१ करोड तीन लाख रुपैयाँ नाफा कमाएका छन् । तर, गत आवको नौ महिनामा कम्पनीहरूले पाँच अर्ब २९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । कम्पनीहरूले मंगलबारसम्म सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो ।
मुख्यतः गत असोजमा आएको बाढीका कारण निर्जीवन बिमा कम्पनीहरूको नाफा प्रभावित भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चंकी क्षेत्रीले बताए । १०–१२ असोजको बाढीले भौतिक सम्पत्तिमा ४६ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुर्याएको थियो । त्यसमा निर्जीवन बिमा कम्पनीहरूमा १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँबराबरको दाबी परेको थियो । त्यसमा हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । भुक्तानी हुन बाँकी रकमबापत छुट्टै रकम प्रोभिजनिङ गरिएको छ । त्यसले गर्दा नाफा प्रभावित भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सिइओ क्षेत्रीको भनाइ छ । त्यो नियमित नभएर भइपरी आउने उच्च दाबी थियो । दाबी उच्च भएपछि स्वतः नाफा प्रभावित भएको उनले बताए ।
समीक्षा अवधिमा दुई निर्जीवन बिमा कम्पनी घाटामा रहेको तथ्यांक छ । तथ्यांकअनुसार दी ओरियन्टल इन्स्योरेन्स १३ करोड ८३ लाख ४० हजार र नेसनल इन्स्योरेन्स ७२ करोड ८१ लाख रुपैयाँले नोक्सानीमा छन् । गत आवको यसै अवधिमा दी ओरियन्टल इन्स्योरेन्स ४६ करोड १७ लाख ३१ हजार रुपैयाँ र नेसनल इन्स्योरेनस १४ करोड १० लाख ३३ हजार रुपैयाँले नाफामा थियो । यीबाहेक १२ निर्जीवन बिमा कम्पनी नाफामा छन् । त्यसमा १० कम्पनीको नाफामा गिरावट आएको देखिन्छ ।
नौ महिनामा नाफा कमाउने मामिलामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पहिलो नम्बरमा छ । यो अवधिमा उक्त कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा रहेको राष्ट्रिय बिमा कम्पनीले ३९ करोड ५६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३६ करोड ९३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ ।

