मकवानपुर \ भीमफेदीस्थित कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरू भएको छ । बिग्रिएको एउटा युनिट मर्मतपछि कुलेखानी तेस्रो जलविद्युत आयोजना पुनः सञ्चालनमा ल्याइएको हो ।
१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना १४ दिनपछि सोमबारबाट पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । १५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मतकार्य सकिएपछि सोमबार दिउँसोबाट दुवै युनिटबाट विद्युत् उत्पादन सुरु भएको कुलेखानी तेस्रोका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए ।
एउटा युनिटको जेनेरेटर प्लेटमा समस्या भएपछि कुलेखानी तेस्रो आंशिक रूपमा मात्रै सञ्चालनमा रहेको थियो । प्रमुख ताम्राकारका अनुसार युनिट मर्मतको क्रममा आइसोलेसन प्लेट फेर्ने, टर्बाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने जस्ता काम गरिएको हो ।
मर्मतकार्यमा चिनियाँ तीन प्राविधिकसहित नेपाली १८ प्राविधिकको टोली संलग्न रहेको उनले बताए । ‘आयोजनाको एउटा युनिट बन्द हुँदा ७ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । मर्मतपछि भने दुवै युनिटबाट पूर्ण क्षमतामा १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ,’ उनले भने ।
देशको एक मात्र जलाशययुक्त इन्द्रसरोवरमा आधारित कुलेखानी जलविद्युत् आयोजना तीन वटा केन्द्रमा सञ्चालनमा रहेको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट, र तेस्रो १४ मेगावाट क्षमताका छन् ।

