हेटौँडा \ कुलेखानी तेस्रो जलविद्युत आयोजनाको एक युनिटमा समस्या भएको छ । तीन वटा उत्पादन केन्द्र रहेको कुलेखानीको तेस्रो प्लाण्टको एउटा युनिटमा समस्या देखिएको हो । भीमफेदी गाउँपालिकाको सानुटारस्थित कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आएपछि विद्युत उत्पादनमा समेत गिरावट आएको छ ।
एक साता अघिबाट उक्त युनिटमा समस्या देखिएपछि कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । विद्युत् अधिक माग बढी रहेका बखत कुलेखानीको युनिटमा समस्या हुँदा विद्युत आपूर्ति समेत अनियमित बनिरहेको हो ।
कुलेखानी जलविद्युत् तेस्रो जलविद्युत् केन्द्रको २ वटा युनिटमध्ये एउटा युनिटको जेनेरेटरको प्लेटमा खराबी आएको केन्द्रका प्रमुख प्रसन्नमणि ताम्राकारले जानकारी दिए । समस्या देखिएको युनिटको गत मङ्गलवारदेखि मर्मत कार्य सुरु गरिएको उनले बताए । उनका अनुसार युनिटको आइसोलेसन प्लेटमा समस्या आएपछि फेर्ने काम तथा टर्वाइन र जेनेरेटरको एलाइनमेन्ट मिलाउने काम भइरहेको छ ।
कुलेखानीबाट विद्युत उत्पादन क्षमता प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी १०६ मेगावाट रहेको छ । हाल तेस्रो मर्मतका क्रममा रहेकाले पहिलो पूर्ण क्षमतामा सञ्चालन गर्दा पानी खेर जाने भएको कुलेखानी जलविद्युत आंशिक रूपमा मात्र सञ्चालनमा रहेको उनले बताए । कुलेखानी प्रथमबाट करिब ४० मेगावाट उत्पादन भइरहेको छ, दोस्रो पूर्ण क्षमतामा र तेस्रोको क्षमताको आधा मात्र उत्पादन भइरहेको उनको भनाई छ ।
कुलेखानी आयोजनाबाट मागका आधारमा र विद्युत् आपूर्तिलाई सन्तुलित विद्युत उत्पादन गर्ने गरिएको उनले बताए । कुलेखानी आयोजनाबाट विद्युत् अधिक माग भएको समयमा विद्युत् उत्पादन हुँदै आएको उनले बताए ।