कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलनको आयोजना गरेको छ । प्रदेश राजधानी विराटनगरमा सम्मेलनको आयोजना गरिएको हो । ‘प्रदेशको समृद्धिको आधार : जलस्रोत, पर्यटन, कषि र पूर्वाधार’ भन्ने मूल नाराका साथमा आज र भोलि दुई दिन सम्मेलन चल्नेछ । यो सम्मेलनबाट कोशी क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरू उत्साहित भएका छन् ।

सगरमाथाको काखदेखि तराईको उर्बर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरूको बुझाइ छ । कोरोनाबाट थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारदाले पनि लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका विभिन्न परियोजना सोकेसिङ गर्ने तयारी गरेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरू छन् ।

लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा धेरै परियोजनामा सम्झौता अर्थात् (एमओयू) हुने जानकारी दिनुभएको छ ।

सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । लगानी सम्मेलनका लागि सरकारले चालू आर्थिक वर्षमा तीन करोड रुपैयाँ विनियोजन गरेको थियो ।

सम्मेलनमार्फत सङ्घीय सरकार, पालिका र लगानीकर्ताबाट प्राप्त आयोजना वा परियोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानी आकर्षक गर्न आवश्यक कदम चालिने उल्लेख छ ।