काठमाडौँ \ सङ्घीय संसद्को बजेट अधिवेशन आज शुक्रबारदेखि प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन सुरु हुन लागेको हो । दुवै सदनको अधिवेशनको पहिलो बैठक शुक्रबार १ बजे सुरु हुने छ । अधिवेशनको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लाग्नुभएको हो ।

शिक्षक आन्दोलनको माग सम्बोधनका लागि सरकारले यो पटक यसअघिको अभ्यासभन्दा साताअघि नै अधिवेशन बोलाउन सिफारिस गरेको थियो । विद्यालय शिक्षा विधेयक पारितलगायतका माग राखेर शिक्षक तीन सातादेखि आन्दोलनमा छन् । यस्तै सङ्घीय निजामती विधेयक चाँडो पारित गर्नुपर्ने दबाब पनि सरकारमाथि छ ।

नीति कार्यक्रम वैशाख १९ मा

यस्तै यो अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस हुने छ । सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको छ । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको बुधबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले वैशाख १९ गते नीति तथा कार्यक्रम पेस गर्ने तयारीबारे जानकारी दिनुभएको थियो ।

यस्तै अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा पनि छलफल हुने छ ।  सरकारले वैशाख अन्तिम साता सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र सिद्धान्त प्राथमिकताको छलफल सकिएपछि सङ्घीय संसद्मा वार्षिक बजेट पेस हुने छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट पेस हुने छ ।