हेटौंडा \ हेटौंडा १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ । विभिन्न क्रियाकलापका साथै शिविरहरु सञ्चालन गरि स्थापना दिवस मनाईएको हो । सहकारी दर्ता भएको चैत्र ३० गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ । संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा वडा नम्बर १५ का वडाध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो । संस्थापक सदस्य सम्मानतर्फ लेखा सदस्य तीर्थमाया वाईवा, सञ्चालक सदस्य ईन्द्रमाया भुजेल र शोभा भोलनलाई सम्मान गरिएको थियो । त्यस्तै, शेयर सदस्यहरुतर्फ गोपिनी उप्रेती, मीनकुमारी थापा, धनमाया लामा, सीतामाया स्याङ्तान, माइलीमाया स्याङ्बो, लिलामाया गोले, सञ्जु लो, राममाया भ्लोन, शोभा भोम्जनलाई सम्मान गरिएको थियो भने कर्मचारीतर्फ अमिता काफ्लेलाई सम्मान गरिएको थियो ।
असल कारोबारीतर्फ विभा सुनार, शान्तिदेवी पुलामी र लक्ष्मीमाया थिङ, नियमित तथा धेरै प्रकारका बचतकर्तातर्फ बिना लो, भवानी खड्का र सुनिता थापालाई सम्मान गरिएको थियो । त्यस्तै, समूहतर्फ भने मुनाल महिला समूह, सगरमाथा महिला समूह र चित्रेपानी महिला समूहलाई पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् । सहकारीले दिवसको अवसरमा २२ गते आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय २ जनाले सेवा लिएका थिए । जनरल फिजिसियन मिथलेश ठाकुर र नर्सिङ लेक्चर लक्ष्मी पौडेलले सेवा प्रदान गरेका थिए । शिविरमा सुगर, प्रेसर, बाथ, किड्नी जाँच र महिलाहरुको स्तन क्यान्सर सम्बन्धी जाँच गरिएको सहकारीले जनाएको छ । त्यस्तै, २३ गते आयोजित स्कुटर र्याली तथा स्लो स्कुटर प्रतियोगितामा रोजिना श्रेष्ठ प्रथम, सरिना भोम्जन द्धितीय, सुस्मिता मोक्तान तृतीय र अस्मिता योन्जन सान्त्वना स्थान हासिल गरेको व्यवस्थापक तामाङले बताईन् ।
सहकारीले २४ गते हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा गोदावरी समूहका समिरा भोम्जन र अनिता भोलन प्रथम भएका थिए । लालिगुराँस समूहका सम्झना घलान र मीनु लामा द्धितीय र सयपत्री समूहका दिना बोम्जन र मन्दिरा भोलन तृतीय स्थान हासिल गरेका थिए । सहकारीले २७ गते सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको थियो भने २८ गते युवाहरुसँग अन्तरक्रिया गरेको व्यवस्थापक तामाङले बताईन् । सहकारीले २९ गते चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा रणवीर घलान प्रथम भएका थिए भने एन्जिला भोम्जन द्धितीय, रिजन श्रेष्ठ तृतीय र आरसिया थोकरले सान्त्वना स्थान हासिल गरेका थिए । घैटोँ फुटाई खेलमा भने सिर्जना भ्लोन विजेता बनेकी थिइन् ।
सहकारीले फागुन मसान्तसम्म सदस्यलाई १६ करोड ६२ लाख ७६ हजार ७२४ रुपैयाँ कर्जा लगानी गरेको छ । २ करोड ५७ लाख ६८ हजार एक सय शेयरपुजीँ रहेको सहकारीले २१ करोड ४४ लाख ३९ हजार ९६८ रुपैयाँको कारोबार रहेको संस्थाका व्यवस्थापक तामाङले बताईन् । संस्थामा कुल निक्षेप १६ करोड ३ लाख ६ हजार ७२० रुपैयाँ रहेको छ । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष विष्णुमाया लामा, संस्थाका लेखा समिति संयोजक मेनुका दाहाललगायतको आतिथ्यता रहेको थियो ।