हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा अवस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले आइतबार पाठेघर क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीले शेयर सदस्यहरुलाई महिला प्रजनन स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरेको हो ।
संस्थाका अध्यक्ष मीना थापाको अध्यक्षता तथा वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष लामाले सामान्य खालका भएपनि स्वास्थ्य सम्बन्धी ज्ञान लिनु आवश्यक रहेको बताए । रोग लाग्नुभन्दा रोग नलाग्न दिनुपर्ने बताउँदै वडाबाट तीन ठाउँमा नसर्ने रोगबारे जानकारी दिँदै जाँच समेत गरिएको उनले बताए ।
पदमपोखरी अस्पतालले उपचारमा सेवा प्रदान गर्दै आइरहेको अवस्थामा अब छिट्टै वर्थिङ सेन्टर सञ्चालन गरिने वडाध्यक्ष लामाले बताए । उनले टोल विकास मार्फत विभिन्न खालका कार्यक्रमहरु सञ्चालन भइरहेका हुन्छन् त्यसतर्फ पनि महिला दिदीबहिनीहरुले ध्यान दिन आग्रह गरे । उनले समृद्ध समाज निर्माणमा स्वास्थ्य र शिक्षाको ठुलो योगदान रहेकाले स्वास्थ्यमा ध्यान दिन सबैमा अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर रामकाजी महर्जनले पाठेघरको क्यान्सर र समग्र महिला प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष एंव संस्थाका निवर्तमान अध्यक्ष विष्णुमाया लामा, उपाध्यक्ष दीपा लामा, डा. रामकाजी महर्जन लगायतको आतिथ्यता रहेको थियो । सहकारीले यस अघि नारी दिवसको अवसरमा पनि पाठेघरको क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
पछिल्लो समय महिलाहरुमा क्यान्सरको सक्रमण बढ्नु र त्यसतर्फ महिलाहरुको ध्यान नपुग्नाले थप सचेत हुन्छन् भनेर सहकारीले उक्त कार्यक्रम सञ्चालन गरेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन । सहकारीले थप अन्य सदस्यलाई क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम आगामी दिनहरुमा पनि सञ्चालन गरिने उनले बताईन् । सहकारीमा हाल ६ हजार चार सय पाँच जना महिला शेयर सदस्य आवद्ध रहेका छन् ।