काठमाडौँ \ औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभरका विभिन्न औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्याइरहेको जनाएका छन् ।
महासङ्घले लोडसेडिङका कारण उद्योगहरू ठुलो समस्यामा परेका र नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगको सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको र त्यसैका कारण उत्पादनमा भारी गिरावट आएको जनाएको छ ।
विद्युत् उपलब्ध नगराइँदा उत्पादनको लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको जनाउँदै परिसङ्घले उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको जनाएको छ । यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशङ्कित बनाइएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।