काठमाडौँ \ नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर को बन्छ भन्नेबारे चासो र चर्चा सुरु भएको छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिन लागेसँगै नयाँ गभर्नरको नियुक्तिका सम्बन्धमा बहस सुरु हुन थालेको हो ।

गभर्नर अधिकारीको कार्यकाल यही चैत २४ गते सकिँदैछ । २०७६ सालको सोही दिन तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाई १७ औँ गभर्नरका रूपमा नियुक्त गरेको थियो । यसअनुसार उनको कार्यकाल एक महिना केही दिन मात्रै बाँकी छ ।

नेपाल राष्ट्र बैंकका कर्मचारीहरू अनिवार्य अवकाश पाउनुभन्दा एक महिनाअघि नै बिदामा बस्ने व्यवस्था राष्ट्र बैंक कर्मचारीसम्बन्धी नियमावलीले गरेको छ । गभर्नर तथा डेपुटी गभर्नरका हकमा यो नियम लागु नहुने भए पनि विगतमा उनीहरूले समेत यही अभ्यासलाई निरन्तरता दिँदै आएका थिए । तर, यसअघिका गभर्नर चिरञ्जीवी नेपाल भने बिदामा बसेका थिएनन् । त्यसैले अधिकारीलाई बिदामा बस्ने वा नबस्ने दुवै छुट छ ।

यद्यपि कार्यकाल सकिनुभन्दा एक महिना अघिदेखि नै माहौल तात्न थालेको छ । बैंक तथा वित्तीय संस्था, वित्तीय क्षेत्रका अन्य संस्थादेखि सेयर बजारसम्म अहिले नयाँ गभर्नर को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ ।