हेटौंडा \ बागमती प्रदेश अन्तर्गत तीन सय भन्दा बढी सहकारीमा विभिन्न प्रकारका समस्या देखिएका छन् । केही सहकारीसँग सम्बन्धित बचत फिर्ता तथा केही ठगीका उजुरी प्रदेश सरकारको विभिन्न निकायमा परेका छन् । प्रदेश सरकार स्थापनादेखि हालसम्म समस्या देखिएका ७२ सहकारीलाई प्रहरी समक्ष अनुसन्धानका लागि पत्राचार गरिएको छ भने ५ सहकारीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनको काम भइरहेको छ । प्रदेश सरकारले सहकारी समस्या हल गर्न छुट्टै मन्त्रालय खडा गरी सो मातहत विभिन्न संरचना निर्माण गरिएको छ ।
प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका अनुसार सहकारीको उद्देश्य र नियम विपरीतका क्षेत्रमा लगानी गर्दा सहकारीहरूमा समस्या आएको हो । समस्या देखिएका सहकारीलाई व्यवस्थापनका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।
सहकारी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नीतिगत व्यवस्था गर्ने गरी काम भइरहेको उनले बताए । बागमती प्रदेशभित्र झन्डै ११/१२ हजारको संख्यामा सहकारी छन् । त्यसमध्ये बागमती प्रदेश सरकार अन्तर्गत दर्ता रहेका ३ हजार २०७ वटा सहकारी छन् । कुल सहकारीमध्ये झण्डै तीन सय सहकारीमा समस्या आएको भनेर मन्त्रालयमा उजुरी आएको छ ।
त्यसमा १२ वटा सहकारीलाई सीआईबीमा अनुसन्धानका लागि लेखेर पठाएका छौँ । हालैमात्र ८ वटा सहकारी छानबिनका लागि प्रहरीमा पठाएका छौँ । हालसम्म ७० भन्दा बढी सहकारी प्रहरीमा अनुसन्धानका लागि पठाएका छौँ । सुमेरु, लालीगुराँस, नेशनल नमोबुद्ध, दर्शन र सिभिल गरी पाँच सहकारीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापनको काम भइरहेको उनले बताए ।