हेटौंडा \ हेटौंडा ८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं रजतजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक तथा स्टेशनरी सामाग्री वितरण गरेको छ । विभिन्न कार्यक्रम गर्दै आइरहेको सहकारीले आइतबार भने चन्द्रोदयमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको संस्थाका व्यवस्थापक केशवकुमार शाहीले बताए ।

संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाध्यक्षता तथा विद्यालयका प्रअ जीवन ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश कुमार पौडेल, लेखा समिति संयोजक यसोदा कुमारी उप्रेती,कोषाध्यक्ष उमानाथ आचार्य, सदस्य दिवाकर पाण्डे लगायतको सहभागिता रहेको थियो ।

सहकारीले यस अघि रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम,डोरी तान्ने प्रतियोगिता, बाल समूहबीच हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम गरिसकेको छ । सहकारीले १७ गते शनिबार मूल समारोहका साथ विभिन्न कार्यक्रमका विजेतालाई पुरस्कृत तथा संस्थापक सदस्यहरुलाई सम्मान गर्ने तय भएको संस्थाका अध्यक्ष लामाले बताए ।