हेटौंडा \ हेटौंडा ८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं रजतजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार डोरी तान्ने प्रतियोगिता भएको छ । प्रतियोगितामा महिला तर्फ किरणचोक फारलाइन र पुरुष तर्फ देवनगर टोल प्रथम भएको छ ।
प्रतियोगितामा महिलातर्फको डोरी तान्नेमा मनकामना (ख) र पुरुषतर्फ मनकामना (क) टोलविकासले द्वितीय स्थान हासिल गरेको संस्थाका अध्यक्ष मोतिलाल लामाले बताए । प्रतियोगितामा महिलातर्फ सातवटा र पुरुषतर्फ नौ वटा टोलको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने समुहले नगद दश हजार र द्वितीय स्थान हासिल गर्ने समुहले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष लामाले बताए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहीबार ओमनगरगेटबाट मेनरोड सरसफाई गरिने र ९ गते चन्द्रोदय माध्यामिक विद्यालयमा वडामा रहेका बाल समूहबीच हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिने अध्यक्ष लामाले बताए । यसैगरी ११ गते आइतबार चन्द्रोदय माविका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिने छ भने १७ गते शनिबार पुरस्कार वितरण, संस्थापक सम्मान तथा सम्पूर्ण कार्यक्रमहरुको समापन गरिने अध्यक्ष लामाले बताए ।
संस्थाको १४९ संस्थापक सदस्यहरु मध्ये ५९ जना शेयर सदस्यलाई चादीँको जलप भएको रजत जयन्ती लेखिएको लकेट प्रदान गरि सम्मान गरिने अध्यक्ष लामाले बताए । सहकारीले मंगलबार भने बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
संस्थाका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाको उपाध्यक्ष रमेशकुमार पौडेल, चन्द्रोदय माविका प्रअ जीवन ढकाल, संस्थाका कोषाध्यक्ष उमानाथ आचार्य लगायतको उपस्थिति रहेको थियो।