February 19, 2025
माघ ११, २०८१

काठमाडौँ \  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि बैङ्कको भूमिका पनि महत्वपूर्ण हुने भन्दै तरलतालाई उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कको बिहीबार राजधानीमा आयोजित ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुकको अर्थतन्त्र केही समयदेखि दबाब र चापमा रहे पनि अर्थतन्त्रका समस्यालाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस भइरहेको बताउनुभयो ।

समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रतासाथ सरकार लागिरहेको उहाँले बताउनुभयो ।

बैङ्कले आफ्नो देशव्यापी शाखा सञ्जालमार्फत मुलुकभरबाट निक्षेप परिचालन गरी कर्जा लगानीमार्फत मुलुकको आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याएकामा प्रशंसा गर्दै उहाँले लगानी प्रवर्धन, उत्पादन अभिवृद्धि तथा रोजगारी सिर्जनाका लागि वित्तीय स्रोत परिचालन गर्ने काममा उक्त बैङ्कले थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।