
हेटौंडा \ मकवानपुर जिल्लाकै सबैभन्दा धेरै सदस्य आवद्ध भएको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको पुस मसान्त सम्ममा तेह्र करोड १६ लाख ९२ हजार २९० रुपैयाँ तरलता रकम रहेको छ । सहकारी विभागको निर्देशन बमोजिम सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाका प्रवन्धक रामशरण गौतमले पछिल्लो समय तरलता रकम बढ्दो रहेको बताए ।
मंगलबार पत्रकार भेटघाट गर्दै संस्थाको वित्तीय विवरणका साथै समसामायिक विषयवस्तुमा छलफल गर्दै प्रवन्धक गौतमले सहकारीमा परेको पछिल्लो आर्थिक मन्दीको प्रभाव, बचत र ऋणका कारोबार, बैंकमा भन्दा सहकारीमा कर्जा लिने संख्या बढेता पनि तरलता प्रतिशत भने बढ्दो क्रममा रहेको बताए ।
सहकारीमा सात हजार १८० जना सदस्य आवद्ध छन् भने संस्थाको शेयरपुजीँ चार करोड ८४ लाख ९६ हजार ६ सय रुपैयाँ रहेको गौतमले बताए । संस्थामा सदस्यहरुको ५७ करोड ३ लाख ७४ हजार ४० रुपैयाँ बचत निक्षेप रहेको छ भने ५५ करोड १२ हजार ७ हजार ७२७ रुपैयाँ कर्जा लगानी रहेको छ । जगेडा कोषमा भने तीन करोड ५५ लाख ८२ हजार ९६५ रुपैयाँ रहेको छ । हाल सम्म सहकारीबाट एक हजार ९६८ जनाले कर्जा लिएका छन् ।
कार्यक्रममा संस्थाका सचिव युवराज गौतम, कोषाध्यक्ष पार्वती ढकाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, संस्थाका प्रवन्धक रामशरण गौतम, सुचना अधिकारी सुशील सुवेदी, सल्लाहकार गोपी अधिकारी, सदस्य अम्बिका कार्की लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।