February 19, 2025
माघ १, २०८१

हेटौंडा \ बागमती प्रदेशका सहकारी तथा गरिवी निवारण मन्त्री मदुकुमार श्रेष्ठले समस्या देखिएका ८ सहकारीलाई चेतवानी दिएका छन् । पटक पटक छलफलमा बोलाउँदा नआउने, सहमती अनुसारको निर्णय पालना नगर्ने बागमती प्रदेशका ८ सहकारीलाई मन्त्री श्रेष्ठले अन्तिम चेतावनी दिएका हुन् ।
मन्त्री श्रेष्ठ सहित प्रदेशको सहकारी महाशाखाले छलफलमा उपस्थित गराएर ८ वटा सहकारीलाई बचतकर्ताको माग सम्बोधन गर्न निर्देशन दिएका थिए । बचतकर्ताहरुले बचत रकम फिर्ता माग गरे अनुसार उपलब्ध गर्ने वातावरण तयार गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका थिए । बचत रकम फिर्ता नगरे वा सो आधार तयार नगरेको खण्डामा थप छानबिन प्रक्रिया अघि बढाउने चेतावनी दिएको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले काठमाडौंको जेष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई १५ दिन भित्र सम्पूर्ण सम्पत्तिको विवरण सहकारी महाशाखामा पेस गर्न निर्देशन दिइएका छन् । बचतकर्ताहरुको रकम फिर्ता गर्ने स्पष्ट कार्ययोजना सहित संस्थाको सम्पत्ती विवरण खुल्नेगरी १५ दिन भित्र उपस्थित हुन निर्देशन दिएका हुन् । सो सहकारीले बचतकर्ताको ९ करोड ३७ लाख ९८ हजार रुपैयाँ अपचलन गरेको भन्दै १७ जना बचतकर्ताहरुले महाशाखामा उजुरी दिएका थिए ।

मन्त्री श्रेष्ठले क्यापिटल सेभिङ एण्ड को–अपरेटिभ लिमिटेडलाई ७ दिनको समय दिइएको छन् । सो सहकारी विरुद्ध ५५ करोड ४३ लाख ३४ हजार रुपैयाँ बचतफिर्ताको मागदावी सहित ११० जनाले उजुरी दिएका थिए । सो सहकारीलाई बचतकर्ताको रकम फिर्ताको कार्ययोजनासहित आधारहरु पेश गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताए ।

गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि छिट्टै सहकारी महाशाखाको सम्पर्कमा आउन निर्देशन दिइएको उनले बताए । उक्त सहकारीले ११ करोड २ लाख ६२ हजार ६३७ रुपैयाँ बचत फिर्ताको माग गर्दै १०९ जनाले उजुरी दर्ता गराएका थिए । तर सहकारी सञ्चालकले व्यवास्ता गरेको भन्दै सहकारी महाशाखाले आफ्नो सम्पर्कमा आउन निर्देशन दिइएको हो ।
काठमाडौंको संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई संस्थाको सम्पत्ति देखाउने तथा बचतकर्ताको रकम फिर्ता गर्ने प्रमाण पेश गर्न निर्देशन उनले बताए । सहकारी सञ्चालकले २ महिना भित्र प्रति बचतकर्ता ५ लाख रुपैयाँसम्म बचत फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गरेकाले सो अनुसारको कार्ययोजना पेश गर्न १५ दिनको म्याद दिइएको उनले बताए । संकटा सहकारी विरुद्ध १४ जनाले ६३ करोड ५ लाख ५८ हजार रुपैयाँ बचत फिर्ताको मागसहित उजुरी दिएका थिए ।

शुक्रपथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सहकारी महाशाखाको सम्पर्कमा आउन पत्र काटिएको छ । २० बचतकर्ताहरुले २ करोड २५ लाख ६ हजार रुपैयाँ फिर्ताको माग गर्दै उजुरी दिएका थिए । ब्रिटिश गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई सम्पत्तीको सम्पूर्ण रेकर्डहरु उपलब्ध गराउन ७ दिनको म्याद दिइएको मन्त्री श्रेष्ठको भनाई छ । २४४ जनाले रकम फिर्ताको माग उक्त सहकारी विरुद्ध उजुरी परेको उनले बताए ।

संघीय सरकारले समेत छानबिन गरिरहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्पत्तिको विवरण पेस गर्न निर्देशन दिइएको मन्त्री श्रेष्ठले बताए । सुविधानगर जगदम्बा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको निरिक्षण भइरहेको उनले बताए । ९३ जना बचतकर्ताले ५ करोड २३ लाख १४ हजार रुपैयाँ बचत फिर्ताको माग गर्दै उजुरी परेको मन्त्री श्रेष्ठले बताए ।

सहकारी व्यवस्थापनमा मन्त्रालय र महाशाखाले क्रिय भुमिका निर्वाह गरिरहेको उनले बताए । आवश्यक प्रमाण र प्रक्रिया पुरा गरेर बचतकर्ताको रकम फिर्ता गर्नेगरी काम भइरहेको उनको भनाई छ । नागरिकको सहज पहुँचबाट काम गर्नेगरी सहकारी क्षेत्रको व्यवस्थापनको कामलाई तिव्र बनाइएको उनले बताए ।