February 19, 2025
पुस २८, २०८१

हेटौंडा \ हेटौंडा–१ मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष शम्भु नकर्मीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीका अध्यक्ष शम्भु नकर्मीले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दीपक देवकोटाले आर्थिक प्रतिवेदन र लेखा संयोजक एसिस रिजालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ८५२ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी १ करोड ७ लाख ४८ हजार ८ सय रुपैयाँ रहेको छ भने बचत संकलन ३ करोड ९४ लाख ७१ हजार रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख रहेको छ । सहकारीको भावी कार्यक्रमहरु अन्तर्गत असल ऋणी तथा असल बचतकर्ता शेयर सदस्यहरुलाई संस्थाको ऋण नीति अनुसार प्रदान गरिने ऋणमा अन्य सदस्यभन्दा २५ प्रतिशत थप ऋण दिने र अचल सम्पत्ति धितो राखी प्रवाह गरिने ऋणको दायरा पचास लाख रुपैयाँ पुर्याइने छ ।

कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्य महानुभावहरुको छात्र÷छात्रामा मणिराज पुडासैनी र आर्यन जोशीलाई पुरस्कृत गरेको थियो । कार्यक्रममा असल बचतकर्ता, ऋणीलाई गोलापर्थाबाट पुरस्कृत गरेको थियो । कार्यक्रममा सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाअध्यक्ष रामबहादुर बस्नेत, युसेस बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष सिद्धिलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।