हेटौंडा \ हेटौंडा–४ मा रहेको मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी २ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ४ सय ७९ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पुँजी २ करोड २६ लाख १८ हजार ३ सय रुपैयाँ रहेको शनिबार आयोजित २५ औँ वार्षिक साधारणसभाको प्रतिवेदनमा उल्लेख रहेको छ ।
संस्थाका अध्यक्ष विजय सागर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष विजयसागर श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा शेयर पुँजी २ करोड ५० लाख रुपैयाँ र ऋण लगानी २० करोड पुर्याउने लक्ष्य रहेको बताए । आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको निक्षेप संकलन २० करोड २९ लाख २९ हजार ७ सय ९९ रुपैयाँ रहेको छ भने ऋण लगानी १७ करोड २४ लाख ५७ हजार रुपैयाँ रहेको सहकारीको प्रबन्धक विपिन कुमार श्रेष्ठले जानकारी दिए ।
गतवर्ष झै यसवर्ष पनि सहकारीले नगर क्षेत्र भित्र रहेको मानवीय सेवा गर्ने संस्थालाई चामल १ बोरा, ५ केजी दाल, १ बक्सा साबुन र ५ सय रुपैयाँ नगद सहयोग गरेको छ । जसअन्तर्गत मानवसेवा आश्रम, मामाघर परियोजना, अनाथ अपाङ्ग बाल पुनःस्थापना, ओम वृद्धाश्रम, श्रीमद्भागवत ज्ञान सञ्चार वृद्धाश्रम, हाम्रो घर आश्रम, संस्कृत वेद विद्यालय, आनन्द मार्ग बाल आश्रम रहेका छन् ।
यसैगरी सहकारीले जेष्ठ नागरिकमा दीलमाया गौतम र जगन्नाथ शर्मा ढकाललाई सम्मान गरेको छ भने असल निक्षेपमा रेखाकुमारी रुम्बा र विष्णु शाही, असल ऋणीमा हीरामाया थिङ्ग र उत्तम गुरागाई र एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्य महानुभावहरुका छात्र/छात्रालाई पुरस्कृत गरेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बागमती प्रदेशका प्रमुख रामेश्वर अर्याल, सहकारीका सल्लाहकार अशोक शाक्य, संस्थाका उपाध्यक्ष पूर्ण शाक्यलगायतको आतिथ्यता रहेको थियो ।