January 13, 2025
पुस १८, २०८१

 कैलाली \  कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको सहकारी संस्थामा कर्जा सहायक पदमा कार्यरत मीना शाहले सदस्यहरूको नामबाट ऋण लिई लामो समयसम्म ऋण नतिरेर फरार हुनुभएको छ ।

२०६८ मा स्थापना भएको साना किसान सहकारी संस्थामा २०६९ सालदेखि बजार सहायक हुँदै कर्जा सहायकका रूपमा कार्यरत शाहले विभिन्न समूहमा आबद्ध एक सयभन्दा बढी सेयर सदस्यबाट ऋण निकाली मनोमानी रूपमा चलाएको पाइएको छ ।

प्रत्येक सदस्यबाट २५ हजारदेखि पाँच लाख रुपियाँसम्म ऋण लिएको सहकारीको रेकर्डमा देखिन्छ । सहकारीले एक लाख ५० हजारसम्म बिनाधितो र धितोबाट १० लाख रुपियाँसम्म सदस्यहरूलाई दुईदेखि तीन वर्षभित्र भुक्तानी गर्ने गरी ऋण प्रदान गर्दै आएको सहकारीका सञ्चालक बताउँछन् ।

स्थानीय विस्नादेवी बमले शाहले साह्रै दुःख देखाएपछि आफूले छिमेकी बहिनीको लालपुर्जा मागेर तीन वर्षअगाडि पाँच लाख ऋण निकालेर दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “छोरो बिरामी छ भन्नुभयो, एकै ठाउँका समूह बनाएर हामीलाई पनि सहयोग गर्नुभएको थियो । मैले काम चलाउनु त हो भनेर अर्काको लालपुर्जा मागेर ऋण निकालेँ । अहिले नखाएको विष लागेको छ ।” सुरुमा सहकारीको सदस्य बनाउन गाउँ गाउँमा समूह बनाउँदा आफन्त, गाउँका सोझासाझा महिलासँग हिमचिम बढाउनुभएकी शाहप्रति विश्वास र सहानुभूतिमा धेरै महिलाले ऋण निकालेर दिएको बताए । अहिले शाह फरार भएपछि उनीहरू चिन्तामा परेका छन् ।

२०७५/७६ सालदेखि शाहले नगरपालिकाका सुखड, कीर्तिपुर, हरिनगर, बेलकोट, गैँडाखेडा, घोडाघोडी, कौवा गाउँका सोझासाझा एक सयभन्दा बढी सदस्यको नामबाट ऋण निकालेर आफूले चलाएको सहकारीको रेकर्डबाट बुझिन आएको छ । सहकारीका निमित्त प्रबन्धक चेतराज बिनाडीले शाहले सदस्यहरूको नामबाट निकालेको रकम २०७९ सालमा ३० लाख रुपियाँ र २०८० सालमा २५ लाख रुपियाँ तिर्ने कागज गरेपछि २०८१ असारमा ८० जना सदस्यको नामबाट रकम निकालेको सूची स्वयम्ले दिएको बताउनुभयो ।