मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आव २०८०/८१ मा १२ करोड ७८ लाख ३६ हजार ८७ रुपैयाँको दुध विक्री गरेको छ । सहकारीले ११ करोड ६५ लाख २४ हजार ५८२ रुपैयाँको किसानबाट दुध खरिद गरि विक्री गरेको हो ।
सहकारीको शनिबार सम्पन्न ३७ औं वार्षिक साधारण सभाको प्रतिवेदनमा उल्लेख कारोबार अनुरुप पशु आहार विक्रीबाट ६ करोड ४६ लाख ८० हजार २०८ रुपैयाँ, उपभोक्ता सामान विक्रीबाट ८९ लाख ८ हजार ३५५ रुपैयाँ र पशु औषधि विक्रीबाट २४ लाख १८ हजार नौ सय रुपैयाँ विक्री आम्दानी भएको संस्थाका व्यवस्थापक शशी लम्सालले बताईन् । संस्थाले विक्री आम्दानी र विक्रीको लागत खर्च घटाउदाँ सहकारीको खुद नाफा ८७ लाख ३३ हजार ९४९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष अर्जुनप्रसाद दहालको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीन, केन्द्रीय दुग्ध उत्पादक संघका सदस्य विदुर हुमागाई, वडा नम्बर ३ का वडाध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै, सभामा गाउँपालिकाका सामाजिक विकास तथा सहकारी शाखा प्रमुख सुर्यबहादुर गुरुङ, पशुशाखा प्रमुख सत्यनारायण साह, जागरण साकोसका अध्यक्ष शत्रुधन दुलाल, श्रमिक साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, हिमाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानुका दहाल, संस्थापक अध्यक्ष हरिप्रसाद अधिकारी, पूर्व व्यवस्थापक बलराम हुमागाई, रानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
१८ लाख २५ हजार शेयरपुजीँ रहेको सहकारीले शेयर सदस्यलाई तीन करोड ६८ लाख ७ हजार, ७९० रुपैयाँ कर्जा लगानी गरेको व्यवस्थापक लम्सालले बताईन् । संस्थाको जगेडा कोषमा एक करोड ४४ लाख ७४ हजार ८२९ रुपैयाँ रहेको छ ।
संस्थाले उद्योग सञ्चालन गरि मनकामना ब्राण्डका दुध, घ्यु, पनिर, दहि, नौनी, छुर्पी लगायत दुधजन्य पदार्थहरुको उत्पादन गरि विक्री गर्दै आइरहेको छ ।