नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । अति कम विकसित देशको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएकोतर्फ उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।
महासङ्घले हिजाे आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नजिक आइरहेको बताउनुभयो । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोगमार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको अध्यक्ष ढकालको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझावअनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले लघु, घरेलु, साना एवम् मझौला उद्यमले पूँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको बताउनुभयाे ।
लघु, घरेलु, साना एवम् मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासङ्घमै लघु, घरेलु, साना एवम् मझौला उद्यम विकास केन्द्र स्थापना गरेको छ । याे केन्द्रको अध्यक्ष ढकालसहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गर्नुभयो । केन्द्रले नीतिगत व्यवस्था, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्याउने लक्ष्य लिएको छ ।