हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा शनिबार भएको छ । जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षतामा सभा भएको थियो ।
सभाको अवसरमा सहकारीले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाले सञ्चारमाध्यमबाट सहकारी क्षेत्रको विषयवस्तुमा कलम चलाइएको भनी खबर सहकारी डटकमका प्रधानसम्पादक श्रीराम अर्जुनलाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थापक शेयर सदस्यहरु खेमनाथ घिमिरे, रामप्रसाद अर्याल, हरिप्रसाद पुडासैनी र नेत्रप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।
सभामा जेष्ठ शेयर सदस्यतर्फ अनाम खड्क अर्याल, सञ्चालक समितितर्फ कृष्णप्रसाद घिमिरे र कर्मचारीतर्फ बजार प्रतिनिधि सुरज श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै, बचततर्फ राजेन्द्र अर्याल र बोजप्रसाद भट्टराई, कारोबारतर्फ कुमार लामा र जीवन सिलवाल व्यवसायीतर्फ सन्तोष घिमिरे र उषा गोले र बाल बचततर्फ धैयर्ता सुनारलाई सम्मान गरिएको थियो ।
सहकारीले एसईइमा उत्कृष्ट जिपिए ल्याउने रक्षक नेवार, आयुष दुलाल, सुमीन मानन्धर, अनुभव अर्याल, शरद न्यौपाने, सदी पाख्रीन लामा र पवन अर्याललाई पुरस्कृत गरिएको थियो ।
सभामा बागमती प्रदेश सहकारी संघका सञ्चालक रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, पूर्व अध्यक्ष पूर्णप्रसाद पुडासैनी, निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, कुखुरा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मैनाली, सञ्चारकर्मी श्रीराम अर्जुन लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले आव २०८०/०८१ मा ११ करोड ६ लाख ७ हजार ६३७ रुपैयाँ बराबरको स्थिती विवरण पत्र प्रस्तुत गरेको छ । २ करोड ६ लाख ५२ हजार एक सय शेयरपुँजी रहेको सहकारीले सदस्यहरुलाई ९ करोड २८ लाख ७६ हजार ७३१ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक पुष्पा क्षेत्रीले बताईन् । संस्थामा बचत निक्षेप ४ करोड १४ लाख ३७ हजार ८२० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५८ लाख ४८ हजार ६ सय रुपैयाँ रहेको व्यवस्थापक क्षेत्रीले बताईन् ।
सभामै संस्थाका अध्यक्ष राजु अधिकारीले बैठक भत्ताको रकममा थप गरी नगद १० हजार रुपैयाँ हेटौंडा १२ सिग्रेनीको प्रतिभा आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राज मोक्तानलाई छात्रवृति स्वरुप हस्तान्तरण समेत गरेका थिए ।