काठमाडौँ \ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि शुरुवाती कारबाही शुरु भएको बताउनुभएको छ ।
आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उहाँले सरकारले समितिले बुझाएको प्रतिवेदनउपर सुरुवाती कारबाही सुरु भएको बताउनुभएको हो । उहाँले समितिको प्रतिवेदनअनुसार प्रतिवेदनले कारबाही गर् भनेका व्यक्तिलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले मन्त्रालय सम्हालेको सय दिनमा आफूले शतप्रतिशत काम सम्पन्न गरेको पनि बताउनुभयो।
उहाँले यो अवधिमा सञ्चार मन्त्रालयलाई दिइएका १५ वटा जिम्मेवारीमा पूरा काम सम्पन्न गरेको बताउनुभयो । उहाँले राष्ट्रिय समाचार समितिलाई २४ घण्टा नै काम गर्ने व्यवस्था मिलाइएको र थप दुई वटा मातृ भाषा (नेपाल र मैथिली) मा समाचार संप्रेषण गरेको, नेपाल टेलिभिजनलाई दिइएको एउटा मातृ भाषामा समाचार प्रशारण गर्ने दायित्वमा नेपाल भाषामा समाचार प्रशारण गरिएको जानकारी दिनुभयो । उहाँले २४ भाषामा समाचार भइसकेको रेडियो नेपालमा थप एक भाषा थप्नुपर्नेमा दनुवार भाषा थपिएको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले एक हजार वटा अडियो रेकर्ड डिजिटलाइज गर्ने भनिएकोमा सो काम पनि पूरा गरेको र गोरखापत्रबाट ४४ वटा भाषामा समाचार संप्रेषण गर्ने जिम्मेवारी दिएकोमा राना थारु भाषामा समाचार संप्रेषण र प्रकाशन गर्ने काम भइसकेको बताउनुभयो । उहाँले ८ वर्षको गोरखापत्रको रेकर्ड डिजिटल अर्काइभिङ गर्ने काम पनि पूरा भइसकेको बताउनुभयो ।