♦ श्रीराम अर्जुन


हेटौंडा \ जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको आयोजनामा आइतबार एक दिवशीय सहकारीकर्मीहरुलाई सुचनाको हक सम्बन्धी अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राष्ट्रिय सुचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त  कृष्णहरि बास्कोटाले भर्चुअल मार्फत सुचनाको हकका विषयमा जानकारी गराएका थिए । भौतिक रुपमै उपस्थिती हुने कार्यक्रम रहेता पनि मौसम प्रतिकुलका साथै हेटौंडामा आउन नसकेकाले जुम मार्फत सुचनाको हक सम्बन्धी ऐन, नियम र विभिन्न दफामा उल्लेख भएका विषयवस्तुहरुलाई समेट्दै सहकारीकर्मीहरुलाई जानकारी गराएका थिए । उनले सहकारीको गोपनियताको कारण र शेयर सदस्यहरुको व्यक्तिगत विवरण सुचना मागदातालाई दिन नमिल्ने समेत बताएका थिए । सहकारीकर्मीहरुको जिज्ञाशालाई पनि पूर्व आयुक्त बास्कोटाले सहजीकरण गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, हेटौंडा उपमहानगरपालिकाका उद्योग पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला सहकारी संघका सदस्य हरिप्रसाद पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, सल्लाहकारहरु उत्तम शर्मा ढकाल, राधा सिंतान लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुरका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक र सुचना अधिकारीहरुको करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।