
भीमफेदी \ मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा अवस्थित महिला एकता बचत तथा ऋण सहकारी संस्थाको २६ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष शर्मिला महतको सभाध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले १२ करोड ८१ लाख ११ हजार ५१४ रुपैयाँको कुलकारोबार गरेको छ । एक करोड २७ लाख ८२ हजार नौसय शेयरपुजीँ रहेको सहकारीले सदस्यलाई ८ करोड ६९ लाख १७ हजार ४१३ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक शर्मिला ढुङ्गानाले बताईन् । उनले संस्थामा ९ करोड ७५ लाख ४४ हजार ६२५ रुपैयाँ बचत निक्षेप रहेको र जगेडा कोषमा ७३ लाख ८९ हजार ३८ रुपैयाँ रहेको बताईन् । सहकारीले चालु आवमा संस्थाको कुल कारोबार १४ करोड ३२ लाख ९२ हजार गर्ने लक्ष्य रहेको उनले बताईन् ।
सभामा वडा नम्बर १ का वडा अध्यक्ष सोमबहादुर स्याङ्तान, वडा २ का वडाध्यक्ष काशीराम बज्यू, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, जिल्ला सहकारी संघका सदस्य सीताराम दाहाल, नेफ्स्कुन फिल्ड कार्यालयका अमन विडारी, राष्ट्रिय सहकारी बैंकका समीर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
सभामा गत बाल दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको थियो । साधारणसभा परिसरमा विभिन्न नृत्य प्रदर्शन समेत गरिएको थियो