हेटौंडा \ हेटौंडा ९ पशुपतिनगरमा अवस्थित नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको २८ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षता तथा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले ४१ करोड ६७ लाख ५४ हजार ५५७ रुपैयाँको कुलकारोबार गरेको छ । ६ करोड ११ लाख ५३ हजार ६ सय शेयरपुजीँ रहेको सहकारीमा २८ करोड ७३ लाख ७५ हजार ७६७ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक महेश अधिकारीले बताए । सहकारीले सदस्यलाई २१ करोड ३६ लाख २ हजार ४०५ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थामा जगेडा कोषमा भने २ करोड २८ लाख ४६ हजार रहेको छ ।
सभामा राष्ट्रिय सहकारी महासंघका सदस्य बद्रीप्रसाद लम्साल, वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीको विशेष आथ्यिता रहेको थियो । कार्यक्रममा प्रदेश बचत संघका पुर्व उपाध्यक्ष राधा सिंतान, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामा, संस्थाका सल्लाहकार भोलाप्रसाद शर्मा खरेल, कुमार पौडल हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
सभामा चालु आवमा सदस्यहरुको लागत सहभागितामा संस्थाले नै सदस्यहरुलाई बीमा कार्यक्रममा सहभागिता गरिने कार्यक्रम ल्याएको छ । त्यस्तै, नीति तथा कार्यक्रमहरुमा संस्थाले स्वरोजगार हुने सदस्यका लागि स्वरोजगार कर्जा र बचत खाता नयाँ प्रोडक्टको रुपमा सुरुवात गरि लागु गर्ने, सदस्यको वित्तीय व्यवहार परिवर्तनका लागि वित्तीय साक्षरता र सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै कर्जा सदुपयोगको प्रभावकारिताको लागि लगानीको अनुगमन गर्ने, मासिक बचत कार्यक्रमलाई अनिवार्यता गरिने, संस्थाको ४ वर्षे रणनितिक योजना तयार गरिने, मन्दीका कारण आएको ह्रासलाई योजना तयार गरी व्यापार प्रर्वद्धनका लागि विविध कार्यक्रम मार्फत पहल गरिने कार्यक्रमहरु ल्याइएको व्यवस्थापक अधिकारीले बताए ।
यसैगरी संस्थाले केयर कार्यक्रम लागु भए पश्चात संस्थाको वित्तीय लगायत आन्तरिक सुशासनका क्षेत्रमा उल्लेख्य सुधार रहेकाले यसलाई निरन्तरता दिइनुका साथै कार्यविधिहरुमा उल्लेख गरिएका र हाल निरन्तर गरिदैँ आएका कार्यक्रमहरुलाई निरन्तरता दिइने व्यवस्थापक अधिकारीले बताए । सहकारीले बचत र ऋणको कारोबार सँगै फलामजन्य सामाग्री, सिमेन्ट, ग्याँसहरुको कारोबार गर्दै आइरहेको छ ।

