मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्दश्यीय सहकारी संस्थाको मंगलबार २७ औँ वार्षिक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष हिरामणी दाहालको सभाध्यक्षता तथा वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा विभिन्न विधामा किसानहरुलाई पुरस्कृत गरेको छ । दुध संकलन तथा विक्री गर्दै आइरहेको सहकारीले पाँच हजार लिटर भन्दा बढी दुध विक्री गर्ने लक्ष्मण दहाल, यटबहादुर बस्नेत, प्रेमप्रसाद दुलाल(ख), शंकरनाथ अधिकारी,मानबहादुर बस्नेत, रामचन्द्र लम्साल र अशोक स्याङ्तानलाई नगद पाँचपाँच हजारका दरले पुरस्कृत गरिएको छ ।
त्यस्तै सहकारीले नियमित दुध विक्री गर्ने जीवन महर्जन, सरसफाई दुध विक्री गर्ने विषम नगरकोटी, गुणस्तर दुध विक्री गर्ने नानीनाथ घिमिरेलाई दुध क्यान पुरस्कार रुवरुप प्रदान गरिएको थियो । त्यस्तै, नियमित बचत गर्ने बालकुमारी दुलाल, असलऋणी चर्कलाल श्रेष्ठ र उत्कृष्ट नियमित दुध खरिद गर्ने आराभा नेपाललाई पुरस्कृत गरिएको थियो । सभामा पूर्व अध्यक्ष लीलानाथ अधिकारीलाई सम्मान गरिएको थियो ।
एक लाख ६३ हजार सात सय शेयरपुँजी रहेको सहकारीमा जगेडा कोषमा १४ लाख ६३ हजार २४४ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । एक करोड ९७ लाख ४ हजार ३७६ रुपैयाँको कूलकारोबार रहेको सहकारीले चालु आवका एक करोड ५९ लाख २८ हजार बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेको छ ।
सभामा जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीराम अर्जुन, संस्थाका पूर्व अध्यक्ष ईन्द्रबहादुर बस्नेत, लीलानाथ अधिकारी, बुङ्गदल सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर अधिकारी, संस्थाका सल्लाहकार, विभिन्न समितिका पदाधिकारीहरु लगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले पशुपालक किसान लक्षित गोठ सुधार कार्यक्रम, जुका नाम्ले औषधि वितरण कार्यक्रम, पशु सुत्केरी भत्ता, एआई कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु गरिने व्यवस्थापक घिमिरेले बताए ।