हेटौंडा \ हेटौंडा ११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको सभाध्यक्षतामा तथा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्या रहेको थियो ।
कार्यक्रममा देवकोटाले सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याहरुलाई हल गर्दै अगि बढ्नु पर्ने बताए । यस्तै उनले सहकारी क्षेत्रमा देखिएको समस्या र चुनौतीहरुलाई समाधानको निम्ति सबैले आआफ्नो ठाँउबाट आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष फूलमान श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए । उनले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आर्थिक वर्ष २०८०/८१ को मुनाफा ५७ लाख ८३ हजार ७ सय ६५ रुपैयाँ रहेको बताए ।
संस्थाको शेयर पुँजी २ करोड ८४ लाख ४८ हजार रुपैयाँ रहेको छ भने सहकारीको कूल बचत निक्षेप रकम २३ करोड ७१ लाख ६१ हजार ९८० रुपैयाँ रहेको व्यवस्थापक नन्दलाल श्रेष्ठ राजेशले बताए । उनले सहकारीले १९ करोड ७५ लाख ५६ हजार ६२४ रुपैयाँ कर्जा लगानी गरेको बताए । संस्थामा २ हजार १ सय जना सदस्य आवद्ध रहेका छन् ।
कार्यक्रममा सहकारीको असल ऋणी, नियमित बचत, उत्कृष्ट बाल बचत, एकल महिला, जेष्ठ नागरिक बचत, पेन्सन बचत, नवयुवा विशेष बचत, मोबाइल बैंकिङ, साधारण बचत, बम्पर पुरस्कार लगाएत विविध विधाहरुमा उत्कृष्ट रहेकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । यस्तै शिक्षा क्षेत्र तर्फ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने श्रेयस बस्नेत, गृष्मा पुडासैनी र प्रनिज्ञा विडारीलाई पुरस्कृत गरिएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष हिमप्रसाद पौडेललाई सम्मान गरिएको थियो । सभामा संस्थाका सचिव गाेविन्द पुडासैनीले सहकारीको भावी कार्यक्रम तथा याेजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, वडा सदस्य सञ्जय विडारी, संस्थाका संस्थापक अध्यक्ष गोकर्ण पराजुली, उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य आशाकुमारी अधिकारी, बागेश्वरी महिला साकोसका सचिव विमला थापामगर, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, लेखा समिति संयोजक ध्रुवप्रसाद पराजुली लगायत विभिन्न सहकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।