October 10, 2024
भदौ २२, २०८१

ईन्द्रसरोवर \ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार वडा नम्बर ४ फाखेल राकसखोलामा शाखा रहित काउण्टर सञ्चालनमा ल्याएको छ । सदस्यहरुको माग र आवश्यकता अनुरुप काउण्टर सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष धनराज महर्जनले बताए ।

सहकारीबाट प्राप्त विभिन्न सेवाहरु अब उक्त काउण्टरबाट समेतसेवा प्रवाह गरिने उनले बताए । अहिले इन्द्रसरोवरको वडा ४ र ५ (साविक फाखेल गाविस) कार्यक्षेत्र रहेको सहकारीले सदस्यहरुलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष महर्जनको अध्यक्षता तथा वडा नम्बर ४ का वडाध्यक्ष चन्द्रकुमार बलको प्रमुख आतिथ्यतामा काउण्टरको उद्घाटन गरिएको हो । कार्यक्रममा कार्यपालिका सदस्य सानुकान्छी स्याङ्तान, संस्थाका पूर्व सञ्चालक विष्ण डिम्डुङ, सचिव हिरालाल बलामीलगायतले आफ्नो भनाई राखेका थिए ।

शाखा रहित काउण्टर विस्तार उद्घाटनको अवसरमा पाँच जना नयाँ शेयर सदस्य लिई प्रमुख अतिथिबाट प्रमाणपत्र समेत लिइएको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए । संस्थाको हालसम्मका आर्थिक र सामाजिक पक्षको विषयमा अध्यक्ष महर्जनले आफ्नो भनाई राखेका थिए ।

सहकारीले श्रावण मसान्त सम्ममा आफ्ना सदस्यहरुलाई ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने १३ करोड ३७ लाख ९७ हजार ६८७ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । एक हजार ८ सय शेयर सदस्य रहेको सहकारीमा एक करोड ६६ लाख ९९ हजार चार सय शेयरपुँजी रहेको व्यवस्थापक थापामगरले बताएका छन् ।