ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार १८ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष धनराज महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।
दिवसको अवसरमा सहकारीले विभिन्न विषयगत क्षेत्रका सदस्यलाई उत्कृष्ट घोषणा गर्दै नाम सार्वजनिक गरिएको हो । सहकारीले बचत कर्तातर्फ ठुलोचौर बचत समूहका कमलमाया लामा, बचत समूहतर्फ प्रभातकालीन बचत समूह, असल ऋणीतर्फ कुमारी बचत समूहका पूर्णमाया बलामीको नाम सार्वजनिक गरिएको सहकारीका सुचना अधिकारी उमेश बस्नेतले बताए । त्यस्तै, जेष्ठ नागरिकतर्फ सरस्वती किटेनी समूहका पृथ्वी बहादुर थापामगर, शेयर खरिदतर्फ वनदेवी बचत समूहका रन्जना नगरकोटी र बाल बचततर्फ राकसखोला बचत समूहका रोहित लामाको नाम सार्वजनिक गरिएको बस्नेतले बताए । यी उत्कृष्ट सदस्यलाई संस्थाको वार्षिक साधारण सभामा सम्मान गरिने उनले बताए । यी सदस्य आव २०८०\०८१ का उत्कृष्ट सदस्यको रुपमा रहेको सहकारीले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष जीवन लामा, गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामा, वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङ, लेखा समितिका संयोजक मधुकर कार्की, सदस्य शान्तलाल लामा, सल्लाहकार केशव कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
सहकारीले श्रावण मसान्त सम्ममा आफ्ना सदस्यहरुलाई ११ करोड ९४ लाख ४५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने १३ करोड ३७ लाख ९७ हजार ६८७ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । एक हजार ८ सय शेयर सदस्य रहेको सहकारीमा एक करोड ६६ लाख ९९ हजार चार सय शेयरपुँजी रहेको व्यवस्थापक थापामगरले बताए ।