ईन्द्रसरोवर \ मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाले सदस्य लक्षित गरी सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । शुक्रबार संस्थाका सचिव हीरालाल बलामीको अध्यक्षतामा सहकारी शिक्षा शिविर भएको हो ।
३० जना सदस्यहरुलाई सहकारीका वस्तु तथा सेवा, बचत र ऋण, अतिरिक्त कार्यालय सञ्चालन, अतिरिक्त सेवा सञ्चालन, सदस्य सुरक्षा तथा हेरचाह, सामाजिक उत्तरदायित्वको विषयमा शिविर सञ्चालन गरिएको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए । यसैगरी, शिविरमा समूदायप्रति चासो, सहकारीको विशेषता, सदस्यहरुको कर्तव्य र वार्षिक योजना तथा बजेटबारे जानकारी समेत दिइएको बस्नेतले बताए ।
शिविरलाई संस्थाका व्यवस्थापक सरोज थापा मगर र ऋण सहायक उमेश बस्नेतले सहजीकरण गरेका थिए । सहकारीले वार्षिक कार्यक्रम अन्तरगत सदस्यहरुलाई परिवर्तित सहकारी ऐन, नियम र नीतिबारे जानकारी गराउँदै आइरहेको छ ।