हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा २ मा अवस्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मकवानपुर जिल्लास्तरीय माध्यमिक तह वक्तृत्वकला प्रतियोगितामा हेटौंडाको जेनिथ ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा कुसुम खड्का प्रथम भएकी छिन् ।

बिहीबार हेटौंडामा भएको प्रतियोगितामा बालजागृति ईङ्लिस बोर्डिङ स्कुलकी छात्रा देविना सञ्जेल, हेटौंडा क्याम्पसकी छात्रा सुशीला तामाङ र भुटनदेवी माविका छात्र सिद्धान्त फुयाल क्रमशः द्वितीय, तृतीय र सान्त्वना भएका थिए ।

“आर्थिक समृद्धिमा सहकारीको भूमिका” विषयक वक्तृत्वकलामा प्रतियोगितामा जिल्ला स्थित विभिन्न विद्यालयका २७ छात्रा र ११ छात्र गरी ३८ जना सहभागि भएका थिए । साहित्य संगम मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना स्थान हाँसिल गर्नेलाई छात्रवृत्ति स्वरुप क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सहकारी संस्थाका अध्यक्ष मिठाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा लम्सालले विद्यालय तहदेखि नै सहकारी शिक्षा आवश्यक भएको बताए । राष्ट्रको आर्थिक समृद्धिमा सहकारी संघ संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । सहकारी संस्थाका सदस्य अर्पण पराजुलीले सञ्चालन गरेका कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले स्वागत गरेका थिए ।

May be an image of 6 people

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर अध्यक्ष एवम् प्रतियोगिताका निर्णायक संयोजक कल्पना श्रेष्ठ, हातेमालो बचत तथा ऋण सहकारी संस्था हेटौंडाका अध्यक्ष हरिप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, साहित्य संगम मकवानपुरका अध्यक्ष डिबि बर्तौला, सचिव मनोज पोखरेल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका ईञ्चार्ज विदुर खड्का, निर्णायकहरु सुवास खनाल, विश्वनाथ सञ्जेल, लगायतको आतिथ्यता रहेको थियो ।

सहकारी संस्थाले हरेक वर्ष साउन २४ गते स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा यो वर्ष माध्यमिक तह विद्यालय स्तरीय वक्तृत्वकलामा प्रतियोगिता आयोजना गरिएको संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले बताए ।
सहकारी संस्थाको मूख्य कार्यालय सहित एक सेवा केन्द्र मार्फत हेटौंडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका कार्यक्षेत्रमा २ हजार ५ सय ९२ जना सदस्यहरु माझ सहकारीले आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।