December 12, 2024
साउन २४, २०८१

हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले सहकारी संघसंस्थाहरुको लागि गत नगरसभाबाट पारित सहकारी संघसंस्थाले तिर्ने व्यवसाय करको दर अव्यवहारिक रुपमा वृद्धि गरेकोमा सोको पुनर्विचारको लागि हेटौंडा उपमहानगरलाई सहकारी सञ्जाल मकवानपुरले नगरप्रमुख र उपप्रमुखलाई ध्यानाकर्षण गराएको छ ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको अध्यक्षतामा मंगलबार हेटौंडामा बसेको जिल्ला सहकारी सञ्जालको बैठकले सो कर सहकारी संघसंस्थाको हितमा नभएकोले पुनः विचार गर्नको लागि ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

सोही अनुसार सहकारी सञ्जाल मकवानपुरले बुधबार हेटौडा उपमहानगरको कार्यालयमा बुझाएको ध्यानकर्षण पत्रमा “सहकारी क्षेत्रको आर्थिक अवस्था जटिल भईरहेको समयमा सरोकारवालाहरुसँग बिना परामर्श एकपक्षीय रुपमा अवैज्ञानिक र अव्यवहारिक रुपमा वृद्धि भएको व्यवसाय करलाई व्यवहारिक र एकरुपता कायम गर्नका लागि अविलम्व करको दर पुर्नविचार गर्न अनुरोध गर्दछौ ।” भनि उल्लेख गरिएको छ ।

गत नगरसभाले हेटौडा उपमहानगरपालिकामा रहेका बहुउद्देश्यीय सहकारी संघ संस्थाहरुलाई वार्षिक १२ हजार रुपैँया, बचत तथा ऋण सहकारी संघ संस्थाहरुलाई ८ हजार रुपैँया, अन्य सहकारी संघ संस्थाहरुलाई ५ हजार, दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई १ हजार पाँच सय रुपैँया व्यवसाय कर निर्धारण गरेको थियो ।

अघिल्लो वर्ष उपमहानगरपालिकाले सबै विषयका सहकारी संघसंस्थाका लागि समान २ हजार ५ सय रुपैँया व्यवसाय कर लिने गरेको थियो । सहकारी सञ्जाल मकवानपुरले दुग्ध उत्पादक र कृषि सहकारी संघ संस्थाहरुलाई उपमहानगरपालिकाले गत वर्षभन्दा व्यवसाय कर घटाएकोमा धन्यवाद दिँदै बाँकी संघ संस्थाहरुको हकमा वृद्धि गरिएको करको दरलाई घटाई दुग्ध उत्पादक र कृषि सहकारी संघकै समान दर कायम गर्न अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मीना कुमारी लामाले करको दरलाई अर्को नगरसभाबाट परिमार्जन गर्ने बताईन् । त्यस्तै उपप्रमुख राजेश बानिँयाले सहकारी संघसंस्थाको व्यवसाय कर निर्धारणको सन्दर्भमा सहकारी सञ्जालको सुझावलाई आत्मसाथ गरि अगाडि बढ्ने बताए ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा मकवानपुर जिल्ला सहकारी संघ लि।का अध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, जिल्ला कृषि सहकारी संघ मकवानपुरका उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैकं बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्याल, नेफ्स्कुन, फिल्ड कार्यालय हेटौडाका ईञ्चार्ज विदुर खड्का लगायतको उपस्थिति रहेको थियो ।