बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको जोखिम कम गर्न नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली जारी गरेको छ ।
राष्ट्र बैंकले हिजो जारी गरेको स्वाप कारोबार विनियमावलीअनुसार बैंक तथा वित्तीय संस्थाले विदेशबाट विदेशी मुद्रामा लिएको ऋण केन्द्रीय बैंकले खरिद गर्नेछ भने बैंकहरूले विदेशी ऋणदातालाई साँवा–ब्याज भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकबाट विदेशी मुद्रा खरिद गर्नेछन् । यस्तो विदेशी मुद्राको विनिमयदर पहिले नै तय गरिने विनियमावलीमा उल्लेख छ ।
विदेशी विनिमय सटहीदरको उतारचढाबका कारण बैंक तथा वित्तीय संस्थाले विदेशी ऋणदातासँग लिएको ऋणको जोखिम बढेपछि राष्ट्र बैंकले विनियमावली जारी गरेको हो । यसअनुसार राष्ट्र बैंक र काउन्टरपार्टीबीच खरिद–बिक्री सम्झौता हुनेछ ।
बैंकले राष्ट्र बैंकलाई प्रचलित मुद्रा सटहीदरमा विदेशी मुद्रा बिक्री गर्नेछ भने सम्झौतामा ऋणको साँवा ब्याज भुक्तानीका लागि विदेशी मुद्रा खरिदको दर तय हुनेछ । स्वाप कारोबार अमेरिकी डलर र नेपाली मुद्रामा हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा १ वर्षभन्दा बढी अवधिका लागि लिएको ऋण मात्रै यस्तो स्वाप कारोबारका लागि योग्य हुनेछन् ।
विनियमावली अनुसार नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख, ग र घ गरी चार वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र स्वाप कारोबार गर्न पाउने छन् । विदेशबाट भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक काउन्टर पार्टी बन्न योग्य हुने छन् ।