December 12, 2024
असार ३०, २०८१

हेटौडा \ हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दुग्ध उत्पादक किसानहरुलाई परेका समस्या र तिनको समाधान कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

किसानहरुलाई परेको समस्या केलाउन विभिन्न ५ वटा उपसमूह बनाइएको थियो । सहभागीहरुले दूधको भूक्तानी समयमै पाउनु पर्ने, पशु आहारको ब्यवस्थापन सधै हुनु पर्ने, कार्यालय ब्यवस्थित र सफा राख्नु पर्ने, दूधको मूल्य बढाउनु पर्ने, कर्जाको ब्याजदर घटाउनु पर्ने, बोनस वितरणलाई पारदर्शी बनाउनु पर्ने, पशु रोग विरुद्धको भ्याक्सिन समय समयमा लगाउनुको साथै पशु शिविर स्वास्थ्य सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।

यसैगरि दुग्ध सहकारी संस्थाको छाता संगठनले दूधको भुक्तानीमा पहल गर्नु पर्ने, किसानको हित हुने किसिमको कार्यक्रम सञ्चालन गर्नु पर्नेमा समेत सहभागीहरले जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामहरि चौलागाई, निवर्तमान अध्यक्ष केशव सञ्जेल, सञ्चालक सदस्य सूर्यप्रसाद दुलाल, ब्यवस्थापक लक्ष्मण सापकोटा लगायतकाले सहजीकरण गरेका थिए ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारी संस्थाका उपाध्यक्ष एवम कृषक हितकोषका संयोजक केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, हेटौडा ६ का वडा सदस्य लेखराज ढकाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, पूर्व अध्यक्ष बासुदेव सापकोटा, साधुराम चौलागाई,केशव सञ्जेल, श्यामप्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको कार्यक्रममा शेयर सदस्य र बचत सदस्य समेत गरि ८५ जनाको सहभागिता थियो ।