
मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा अवस्थित जनजागृति बहुउद्देश्यीय सहकारी संस्थालाई मिल्क एनालाइजर मेशिन प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच वडा ५ का वडाध्यक्ष दिपेश दहालले संस्थाका अध्यक्ष हिरामणि दहाललाई उक्त मेशिन हस्तान्तरण गरिएको हो ।
मेशिन प्रदान गर्दै वडाध्यक्ष दहालले मेशिन प्राप्त पश्चात कृषकहरुले उत्पादन गरेको दुधको फ्याटको मात्रा निर्धारण गर्न सहज बन्ने बताए । वडाले किसान लक्षित विभिन्न कार्यक्रम गर्दै आउनुका साथै आव २०८१÷०८२ मा पनि किसान लक्षित थुप्रै कार्यक्रमहरु रहेको बताए । उत्पादनमा आधारित सहकारी संस्थालाई थप सहजता मिल्नको लागि कृषिजन्य सामाग्रीहरु प्रदान गाउँपालिकाले गर्नेछ, वडाध्यक्ष दहालले भने । अनुदानमा घाँस काट्ने मेशिन, काउम्याट, गोठसुधार कार्यक्रम लगायत अन्य कार्यक्रमहरु वडाले गर्ने बताए ।
संस्थाका अध्यक्ष हिरामणि दहालको अध्यक्षतामा भएको मेशिन हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष दिपेश दहालको प्रमुख आतिथ्यता रहेको थियो । एक लाख ९ हजार ८ सय ५० रुपैयाँ लागत मुल्य रहेको मेशिनलाई गाउँपालिकाले खरिदका लागि एक लाख रकम उपलब्ध गराएको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए । मिल्क एनालाइजरले दुधको फ्याट र एसएनएफ मात्रा निर्धारण गर्नुका साथै दुधमा पानीको मात्रा पहिचान गर्ने व्यवस्थापक घिमिरेले बताए । सहकारी संस्थाले दुध संकलन र विक्री गर्ने गर्दछ । सहकारीमा ७० भन्दा बढी सदस्यहरुले दुध विक्री गर्दै आइरहेका छन् ।