हेटौंडा \ हेटौंडा २ मानसचोक स्थित गणपति बाबा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर सदस्यको उपचार र औषधिमा छुट दिन सीएमएसी चुरेहिल हस्पिटल प्रालि बीच सम्झौता गरेको छ ।

गणपति बाबा साकोसका अध्यक्ष कमल मैनाली र चुरेहिल सीएमसी हस्पिटलका प्रवन्धक निर्देशक प्रताप देवकोटाले सम्झौता पत्र हस्तान्तरण गरेका छन् । बुधबार हस्ताक्षर पश्चात सम्झौतापत्र साटासाट गर्दै सदस्यहरुको उपचारमा केही राहत पुग्ने गरी सम्झौता गरिएको संस्थाका अध्यक्ष मैनालीले बताए ।

हामीले शेयर सदस्य र उहाँको एकाघर परिवारको सदस्यहरुलाई पनि उपचारमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट दिने गरी सम्झौता भएको हो, अध्यक्ष मैनालीले भने । सम्झौता बमोजिम हामीले सदस्यलाई कार्ड उपलब्ध गराउँने छौ । कार्डको आधारमा सदस्यले सुविधा लिनेछन् ।

सहकारीमा २ हजार ४६५ जना शेयर सदस्य रहेको संस्थाका प्रवन्धक युवराज तिमल्सिनाले बताए । सम्झौता कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।