
मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाले दुध संकलन बैंक स्थापना गरि चिलिङभ्याट सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमकाबीच भ्याटको उद्घाटन गरिएको थियो ।
संस्थाका अध्यक्ष हिरामणि दाहालको अध्यक्षता तथा वडा नम्बर ५ का वडाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष दाहालले भ्याट सञ्चालनपछि दुध संकलनमा सहजता रहने बताए । गाउँपालिकाले दिने एक रुपैयाँ अनुदानका कार्यक्रमलाई निरन्तरता रहने भन्दै दुध विक्री सहकारी मार्फत नै गर्न आग्रह गरेका थिए । उनले संस्थालाई यही आवमा एनालाइजर मेशिन प्रदान गर्ने प्रतिवद्धता समेत गरेका छन् । वडाबाट पशुपालन क्षेत्रमा गोठ सुधारको कार्यक्रम भइरहेकाले आगामी वर्षमा पनि त्यसलाई निरन्तरता दिने बताए ।
दुध संकलन तथा बिक्री गर्दै आइरहेको सहकारीले चिलिङभ्याट राखेर थप सुविधाका साथ दुध संकलन र बिक्री गर्ने संस्थाका अध्यक्ष हिरामणि दाहालले बताए । सहकारीमा मकवानपुरगढी ५ र ४ का किसानहरुले दुध विक्री गर्दै आइरहेका छन् । दैनिक ५ सय भन्दा बढी दुध संकलन गर्दै आइरहेको सहकारीले भ्याट सञ्चालन पश्चात बढी दुध संकलन गरि बिक्री गर्न सहज हुने अध्यक्ष दाहालले बताए ।
प्रदेश दुग्ध विकास वोर्डले दुध संकलन बैंक् स्थापना कार्यक्रम अन्तरगत दुई लाख ८० हजारको बजेटमा ५० हजारका पाँचवटा दुध क्यान खरिद गरिएको र २ लाख ३० हजारमा पाँच सय लिटर क्षमता भएको चिलिङभ्याट खरिद गरिएको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए ।
कार्यक्रममा प्रदेश दुग्ध विकास वोर्डका दुध प्राविधिक अधिकृत डा. मन्दिप पोखरेल, संस्थाका सल्लाहकार ईन्द्रबहादुर बस्नेत, यज्ञप्रसाद तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।