November 14, 2024
जेष्ठ ६, २०८१

मकवानपुरगढी \  मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा अवस्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २५ औँ स्थापना दिवसमा सफल उद्यमी सदस्य सम्मान गरेको छ । आइतबार एक कार्यक्रमकाबीच दिवस मनाउँदै चार जना सफल उद्यमी सदस्य सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष पार्वती फुयालको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सफल उद्यमी सदस्य भनी लक्ष्मी सापकोटा, कमला ढुङ्गाना, देवकी फुयाल न्यौपाने, लक्ष्मी अधिकारीलाई सम्मान गरिएको थियो । उनीहरुले व्यवसायिक कृषि तथा पशुपालन गर्दै आइरहेका छन् ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरका सचिव वीरेन्द्रप्रसाद ढुङ्गाना, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख विदुर खडका, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन, स्वरोजगार साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धनकुमारी खड्का, संस्था निवर्तमान अध्यक्ष देवकी चौलागाई, लेखा समिति संयोजक सुलोचना स्याङ्तान, र जनहित स्वावलम्बन साकोसका व्यवस्थापक दीर्घ बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।

सहकारीले बैशाख मसान्तसम्ममा ११ करोड १७ लाख ८९ हजार ६८४ को कारोबार गरेको संस्थाका व्यवस्थापक मेनुका कुमारी न्यौपाने बताइन् । संस्थाको शेयर पुँजी १ करोड १९ लाख ८० हजार ८ सय रहेको छ ।

स्थापना दिवसको अवसरमा सहकारीले ३ गते मकवानपुरगढी ५ मा रहेको उज्ज्वल प्राथमिक विद्यालयका अध्ययनरत २१ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो । त्यस्तै सोही दिन सहकारीलाई योगदान गर्ने ७ जना अशक्त शेयर सदस्यलाई घरमै भेटघाट कार्यक्रम गरिएको संस्थाका सचिव सरिता ढुङ्गानाले बताइन् ।

कार्यक्रममा सम्मानित तर्फबाट देवकी फुयाल न्यौपाने र संस्थाका कोषाध्यक्ष सरिता चौलागाइले आफ्नो भनाइ राखेकी थिइन् ।