हेटौँडा \ सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले बताएका छन् । बुधबार सहकारी सञ्चालन सम्बन्धी समसामयिक विषयमा जिल्लास्तरीय अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बज्रचार्यले सहकारी सदस्यहरुको आर्थिक विकासको लागि महत्वपूर्ण रहेको बताउँदै सहकारीको सकारात्मक कुरालाई पनि प्रचारप्रसार गर्नुपर्ने बताएका हुन् । केही खराब कार्य गरेका सहकारीका सञ्चालकहरुलाई कारवाहीको दायरामा ल्याई सदस्यहरुको बचत सुरक्षणको लागि सरोकारवालाहरु प्रतिवद्ध हुनुपर्ने समेत मन्त्री बज्रचार्यले बताए ।
बागमती प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको गोष्ठीमा देवकोटाले सहकारीको विकास, प्रवद्र्धन र सुदृढिकरणमा सहकारीका सञ्चालकहरु अगाडि बढ्न जरुरी भएको बताए । उनले सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रीत गर्न सबैतहका सरकारले जोड दिनुपर्ने समेत बताएका थिए ।
प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौँडामा भएको कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राजन पोखरेलले सहकारीमा उत्पन्न समस्या समाधानको लागि सहकारी महाशाखा सक्रिय रहेको बताए । गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले ‘मकवानपुरमा सहकारीको अवस्था, सम्भावना र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा मकवानपुर जिल्ला सहकारी संघका लेखा समिति संयोजक खेमराज सापकोटा, हेटौँडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, कृषि सहकारी संघका उपाध्यक्ष रेखा खतिवडा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका प्रमुख विदुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर जिल्लामा रहेका सहकारी संघ संस्थाका सञ्चालक समिति, लेखा समिति पदाधिकारीहरु र व्यवस्थापकको सहभागिता रहेको मकवानपुर जिल्लामा सहकारी संघका व्यवस्थापक गोविन्द दाहालले बताए ।